विराटनगर—मोरङको रतुवामाई नगरपालिकामा कार्यरत ६० जना स्वास्थ्यकर्मीहरुले चार महिनादेखि तलब पाएका छैनन् । माघदेखि वैशाखसम्म चार महिनाको तलब संघीय सरकारले नपठाएपछि स्वास्थ्यकर्मीहरुले आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुले जेठ ७ गतेबाट आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । पहिलो दिन हातमा कालोपट्टी बाँधेर काम गर्ने, जेठ ८ देखि १० गतेसम्म १/१ घण्टा नगरपालिकाको कार्यालय सिजुवामा धर्ना दिने कार्यक्रम रहेको छ ।
यस्तै, जेठ ११ र १२ गते दुई दिन आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।
रतुवामाईमा स्थायी ३५ जना र करारका १५ जना स्वास्थ्यकर्मी कार्यरत छन् । ज्यालादारी ४१ जना कर्मचारी छन् । यहाँ सातौं तहसम्मका स्वास्थ्यकर्मीहरु कार्यरत छन् ।
आइतबार उनीहरुले नगरपालिका प्रमुख प्रशासकीय अधिकृतलाई भेटेर ध्यानकर्षण पत्र पनि बुझाएका छन् । उनीहरुले जेठको पहिलो हप्ता भित्रमा सेवा सुविधासहित तलब उपलब्ध नभएर आन्दोलनमा उत्रिन बाध्य हुने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
‘हामीले पटक–पटक आफ्नो व्यक्तिगत तवरले सम्पर्क र सोधपुछ गरिरहेको र उक्त कुरामाथि नगरपालिकाको कार्यालयबाट उपलब्धिमूलक कुनै कार्य भएको नदेखिएको हुँदा हामी यस नगरपालिकाका सबै स्वास्थ्यकर्मीहरु एकजुट भएर आफ्नो तलब भत्ताको लागि कार्यालय प्रमुखको सामु ज्ञापन पत्र पेश गरी ध्यानाकर्षण गरेका हो,’ ध्यानाकर्षण पत्रमा छ, ‘हाम्रो यस कार्य प्रति छिटोभन्दा सेवासुविधा उपलब्ध गराई दिनुहुन अनुरोध गर्दै हाम्रो सेवा सुविधा जेष्ठको पहि हप्ता भित्रमा उपलब्ध नभएमा हाम्रो उन्दोलनका उत्रिन बाध्य हुनेछौं ।’