२०८१ माघ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बनाउन २ अर्ब ६५ करोड लाग्ने

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बनाउन २ अर्ब ६५ करोड लाग्ने

२०० शैय्याको बहुविशिष्टीकृत बाल अस्पतालमा झण्डै ४०० जनाले रोजगारी पाउने


काठमाडौं—वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला नेतृत्वमा बुढानिलकण्ठमा बन्न लागेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) स्थापनाका लागि २ अर्ब ६५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । अस्पतालको वातावरणीय मुल्यांकन प्रतिवेदन (ईआईए)मा उल्लेख भएअनुसार उक्त आयोजनाको लागत अनुमान २ अर्ब ६५ करोड ८८ लाख ८ हजार रुपैयाँ छ ।

बुढानिलकण्ठ नगरपालिका—७ हेपाली हाइटमा ४१ रोपनी १० आना ३ पैसा क्षेत्रफलमा निर्माण हुने २०० शैय्याको उक्त अस्पताल पाँच तलाको हुनेछ । नेपाल सरकारको स्वामित्वको जग्गा अस्पतालले ३० वर्षका लागि लिजमा लिएर अस्पताल बनाउन लागिएको हो । बालबालिकाको बहुविशिष्टीकृत अस्पतालका रुपमा विकास गरिन लागिएको उक्त अस्पताल सुरुमा १०० शैय्या संचालनमा आउने छ भने केही समयपछि थप १०० शैय्या संचालनमा ल्याइनेछ ।

अस्पतालमा कार्डियोथोरासिक केयर, अंकोलोजी, मेन्टल हेल्थ, क्रिटिकल केयर, अर्थोपेडिक एण्ड ट्रमा, न्यूरो/इएनटी, प्लास्टिक एण्ड रिकन्स्क्टीभ, आई/डेन्टल/डर्मा, इमर्जेन्सी, ल्याब एण्ड डाइग्नोसिस, जनरल पेडियाट्रिक र सर्पोटिभ केयर सेवा उपलब्ध हुनेछ ।

बालबालिकाहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि स्थापना गर्न लागिएको उक्त अस्पताललाई मुनाफा वितरण नगर्ने कम्पनीका रुपमा विकास गर्न खोजिएको छ । ‘अस्पतालले स्वास्थ्य क्षेत्रमा एउटा बहुविशिष्टीकृत अस्पताल संचालन गर्ने, तालिम प्राप्त दक्ष जनशक्ति उत्पादन गर्ने, गुणस्तर वृद्धि र नियमन विधी र प्रक्रियाको विकास गर्नेलगायत कार्य गर्ने गरी सबै प्रादेशिक बाल अस्पतालहरुका लागि स्रोत केन्द्रका रुपमा केन्द्रीय बाल अस्पताल संचालन गर्नेछ,’ ईआईए प्रतिवेदनमा छ, ‘अस्पतालको केन्द्रीय अस्पताल रहेकोबाहेक बाँकी ६ प्रदेशमा सुरुमा स्थानीय स्वास्थ्य संस्थाहरुसँग समेत सहकार्य गरेर ५० शैय्याका बाल अस्पताल विस्तार गर्ने लक्ष्य छ ।’

अधिकतम उपचार सेवा प्रदेश बाल अस्पतालबाट गर्ने र जटिल प्रकृतिको रोगका लागि विशिष्ट सेवा केन्द्रीय अस्पतालबाट उपलब्ध गराउने लक्ष्य राखिएको छ । देशका १ करोड ३० लाख १८ वर्षमुनिका बालबालिका निम्ति अस्पतालहरुमा २८०० शैय्यामात्र छुट्याइएको र त्यसमा पनि बालकालिकालाई विशिष्टीकृत सेवाको अभाव टार्न अस्पताल सुरु गरिएको प्रतिवेदनमा उल्लेख छ ।

अस्पताल संचालनमा आएसँगै बालबालिकाले बहुविशिष्टीकृत स्वास्थ्य सेवासँगै ठूलो संख्या रोजगारीको अवसर पनि सिर्जना हुनेछ । अस्पतालमा झण्डै ४ सय जनाले रोजगारी पाउनेछन् । अस्पताल सुशासन तथा व्यवस्थापनका लागि अस्पतालमा प्रबन्ध निर्देशक, मेडिकल निर्देशक, मेट्रोन, प्रमुख प्रशासकीय अधिकृत, अस्पताल व्यवस्था अधिकृत, सूचना अधिकृत, आईटी अधिकृत/सहायकलगायतका कम्तिमा २७ देखि बढीमा ३७ जना जनशक्ति रहने आँकलन गरिएको छ ।

यसैगरी, क्लिनिकलतर्फ विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्सिङ अधिकृत, नर्सिङ स्टाफसहित २६८ जना कर्मचारी रहनेछन् । त्यसबाहेक आंशिकतर्फ एक जना स्त्री तथा प्रसुति रोग विशेष, एक जना प्लास्टिक, रिकन्स्टक्टीभ, एस्थेटिक एण्ड ह्याण्ड सर्जन हुनेछन् ।

अस्पताल सहयोग सेवाका लागि हाउस किपर, सिएसएसडी, लाउण्डी र हाउस किपिङ, पलम्बर, इलेक्ट्रीसियन गरी ४३ जना कर्मचारी हुनेछन् भने सुरक्षा, बगैचे, कार्यलय सहयोगीलगायतका केही अन्य कर्मचारी पनि रहनेछन् । सबैगरी अस्पताल पूर्ण रुपमा संचालनमा आउँदा झण्डै ४ सय जनाले रोजगारी पाउनेछन् ।

अस्पताल भवन कस्तो हुनेछ ?

अस्पतालको आरसीसी फ्रेम प्रकृतिको भुइतल्लासहित पाँच तलाको भवनमा तीन तलाको बेसमेन्ट हुनेछ । भुइँतलामा (०) मा ओपीडी, नाम दर्ता, फार्मेसी, फिजियोथेरापी र डे केयर सेवा रहनेछ । पहिलो तलामा ओटी, प्रि—अप, पोष्टअप र एसआईसीयु रहेनछ ।

यसैगरी, दोस्रो तलामा एनआईसीयु, पीआईसीयु, एचडियु, जनरल वार्ड र वेटिङ रुम हुनेछ भने तेस्रो तलामा डबल बेडरुम, सिंगल बेडरुम र स्वीट रहनेछ । चौथो तलामा जनरल वार्ड, अडिटोरियम र एडमिनिष्ट्रेसन हुनेछ भने पाँचौ तलामा जनरल वार्ड, अडिटोरियम र एडमिनिष्ट्रेसन रहनेछ ।

तीन तलाको बेसमेन्टमा सुरुमा पार्किङ लेभलमा पार्किङ हुनेछ । त्यसपछि ल्याब लेभलमा ल्याब, गोदाम, सिएसएसडी, प्रशासन, चिकित्सक कक्ष, लुगा धुने सुवधा र हाउस किपिङ हुनेछ । यसैगरी, आकस्मिक कक्ष लेभलमा आकस्मिक सेवा, खाना खाने क्षेत्र र रेडियोलोजी रहनेछ ।

चार वर्ष निर्माण सक्ने योजनाका साथ अगाडि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ १०० जना निर्माण कार्यमा संलग्न हुनेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ