२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १औषधिको दुरूपयोग रोक्न सबैको साथ सहयोगको खाँचो

औषधिको दुरूपयोग रोक्न सबैको साथ सहयोगको खाँचो


विराटनगर— लागु तथा मनोद्धिपक औषधि चिकित्सकको प्रेस्क्रिप्सन लिएर मात्र औषधि व्यवसायीहरुले बिक्री वितरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । चिकित्सकको प्रेस्क्रिप्सन बिना लागु तथा मनोद्धिपक औषधि बिक्री वितरण गर्दा यसको दुरूपयोग बढेको भन्दैं सरोकारवालाहरुले उक्त धारणा राखेका हुन् ।

सोमबार नेपाल औषधि व्यवसायी संघ मोरङले रंगेलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत अनिल परियारले औषधिको समुचित प्रयोग बढाउने र अनुचित प्रयोग घटाएर लैजान सबैको साथ सहयोग आवश्यक रहेको बताए । ‘डिडिए एक्लैले पनि केही गर्न सक्दैन । औषधिको दुरूपयोग रोक्न सबैको साथ सहयोगको खाँचो रहेको छ,’ औषधी व्यवसायीहरुलाई सचेत गराउँदै उनले भने, ‘बिरामीले सेवन गर्ने लागु तथा मनोद्धिपक औषधि चिकित्सकको प्रेस्क्रिप्सन लिएर त्यो पनि रेकर्ड गरेर मात्र बिक्री वितरण गर्न अनुरोध गर्दछु । यदि आफू खुसी बिक्री वितरण गरेको पाइए औषधि ऐन, २०३५ अनुसार कारवाहीको भागिदार हुुनुपर्दछ ।’

पछिल्लो समय लागु तथा मनोद्धिपक औषधि चरम दुरूपयोग बढेको उल्लेख गर्दै उनले औषधि व्यवसायीहरू सचेत हुन जरुरी रहेको उनले बताए । ‘लागु तथा मनोद्धिपक औषधि अनुचित प्रयोग रोक्न व्यवसायीहरू जिम्मेवार बन्नुपर्दछ,’ उनले भने, ‘त्यसका लागि लागु तथा मनोद्धिपक औषधि चिकित्सकको पे्रस्क्रिप्सन लिएर मात्र बिक्री वितरण हुनुपर्दछ ।’ यस्तो औषधि कसलाई बिक्री वितरण गरिनुपर्ने त्यसको पनि ख्याल व्यवसायीले गर्नुपर्ने उनले बताए । ‘चिकित्सकको सिफारिस गरेअनुसार लागु तथा मनोद्धिपक औषधिको सेवनले बिरामी ठिक हुने गर्दछ,’ उनले भने, ‘तर, यही औषधि गलत तरिकाले अनुचित रुपमा बिक्री वितरण गर्दा दुर्व्यसनीले सेवन गर्दछ । त्यसैले व्यवसायी सचेत हुन जरुरी छ ।’

कार्यक्रममा रंगेली नगरपालिकाकी उपप्रमुख भुमा पराजुलीले लागु तथा मनोद्धिपक औषधि सुरक्षित भण्डार गरी बिक्री वितरण गरिनुपर्नेमा जोड दिइन् । कार्यक्रममा इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्का, इप्रका सिजुवाका प्रमुख प्रहरी निरीक्षक डुण्डी गिरी, नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले स्वच्छ, मर्यादित रुपमा औषधिको बिक्री वितरण गरिनुपर्नेमा जोड दिए ।

लागु तथा मनोद्धिपक औषधि र कर सम्बन्धित एक दिने अभिमुखीकरण तालिममा तीन दर्जन बढी व्यवसायीहरुको उपस्थिती रहेको नेपाल औषधि व्यवसायी संघ मोरङ शाखाका उपाध्यक्ष देशबन्धु ढकालले बताए । व्यवसायीहरुलाई लागु तथा मनोद्धिपक औषधि कसरी बिक्री वितरण गर्ने ऐन नियमको बारेमा जानकारी गराउँदै कर सम्बन्धितको पनि जानकारी दिन व्यवसायीहरुलाई अभिमुखीकरण गराएको उनले बताए । यसअघि पनि संघले उर्लावारी र सलकपुरमा यस्तो कार्यक्रम गरेको उनले बताए ।

कर सम्बन्धीको जानकारी आन्तरिक राजस्व कार्यालय विराटनगरका कर अधिकृत प्रेमप्रसाद मण्डल अभिमुखीकरण गराएका थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ