काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)ले कुल बजेटको १० प्रतिशत बजेट विनियोजन माग गरेको छ । शुक्रबार अर्थमन्त्री प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाउदैं एनएमएको प्रतिनिधीमण्डले उक्त माग गरेको हो ।
यस्तै, चिकित्सकलाई सिधैं सहसचिव (प्रथम श्रेणी)मा सरकारी सेवामा भर्ना गर्न पनि संघले माग गरेको छ । उसले बुझाएको ज्ञापनपत्रमा ‘हाम्रो स्वास्थ्य, हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ नसर्ने रोगका लागि बजेट सुनिश्चित गर्नुपर्ने र स्वास्थ्य बिमाको आवश्यक मुल्यांकन र परिमार्जन गर्न माग गरिएको छ ।
यस्तै, हाल रहेको स्वास्थ्य दरबन्दी बढाउनुपर्ने, चिकित्सकहरुलाई सार्क मुलुक वा सो सरहको सेवा सुविधा हुनुपर्ने, चालक, सवारी साधन र आवासलगायतका सुविधा उपलब्ध गराउनुपर्ने, चिकित्सक र स्वास्थ्यकर्मीको उपचारका लागि छुट्टै अस्पतालका लागि बजेट बिनियोजन गर्नुपर्ने, स्वास्थ्य संस्थाको स्तरोन्नती गर्नुपर्ने, राष्ट्रिय विपत्त र महामारीको पूर्व तयारीका लागि स्रोत साधन सम्पन्न तालिम सेन्टरको स्थापना गर्नुपर्नेलगायतका मागहरु ज्ञापनपत्रमा छन् ।