काठमाडौं–त्रिवि शिक्षण अस्पतालमा १० औं कलेजो प्रत्यारोपण सफल भएको छ । मंगलबार राति अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले १० औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको हो ।
डा. भण्डारीकाअनुसार काठमाडौं बाहिरका ३१ वर्षीय पुरुषमा उनकी ३० वर्षीया श्रीमतीको कलेजो प्रत्यारोपण गरिएको हो । ‘प्रत्यारोपणमा झण्डै १२–१३ घण्टा लाग्यो,’ उनले बुधबार विहान हेल्थआवाजसँग भने, ‘बिरामी र दान गर्ने दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ ।’ शिक्षण अस्पतालको टिमलाई नयाँ दिल्लीका चिकित्सक डा. विशाल चौरासियाले सहयोग गरेका थिए ।
१० औं सफल कलेजोको प्रत्यारोपण गरेसँगै त्रिवि शिक्षण अस्पताल नेपालमै १० औं कलेजो प्रत्यारोपणको कोशेढुंगा पूरा गर्ने पहिलो अस्पताल भएको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रले कलेजो प्रत्यारोपण सेवा सुरु गरेपनि नियमित बनाउन समस्या झेलिरहेको छ । चितवन मेडिकल कलेजमा पनि कलेजो प्रत्यारोपण सेवा सुरु भएपनि अगाडि बढ्न सकेको छैन ।
त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सेवाको सुरुवातकर्तासमेत रहेका डा. भण्डारीले १० औं सफल कलेजो प्रत्यारोपणपछि सबै कुरा राम्रो भइरहेको प्रतिक्रिया दिए । ‘हामी यो समाचार दिन पाउँदा एकदमै खुसी छौं,’ उनले भने, ‘हामीले हिजो राति १० औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेका छौं । सबै कुरा राम्रो भइरहेको छ ।’
डा. भण्डारीकै अगुवाईमा १७ जेठ २०७६ मा त्रिवि शिक्षण अस्पतालमा पहिलो सफल कलेजो प्रत्यारोपण गरिएको थियो । जसमा ५८ वर्षीय एक पुरुष बिरामीको कलेजो प्रत्यारोपण गरिएको थियो । ती बिरामीलाई उनकी ३३ वर्षीया छोरीले कलेजो दान गरेकी थिइन् । पहिलो कलेजो प्रत्यारोपणको झण्डै तीन महिनापछि ३ साउन २०७६ मा दोस्रो कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भयो । यो प्रत्यारोपणमा महेन्द्रनगरका ४४ वर्षीय पुरुषलाई उनका २६ वर्षीय ज्वाइँ नाता पर्ने पुरुषको कलेजो प्रत्यारोपण गरिएको थियो ।
‘दोस्रो कलेजो प्रत्यारोपण सफल भएपछि हामीहरु थप उत्साहित भएर काममा लाग्यौं,’ त्रिविको कलेजो प्रत्यारोपण एकाईका प्रमुखसमेत रहेका डा. भण्डारीले हामीसँग यसअघि भनेका थिए, ‘त्यसपछि क्रमसः नेपालमा पनि कलेजो प्रत्यारोपण हुँदो रहेछ भन्ने विश्वास बिरामीहरुलाई हुन थाल्यो ।’
शिक्षण अस्पतालले दोस्रो कलेजो प्रत्यारोपण गरेको झण्डै तीन महिनापछि १ कात्तिक २०७६ मा तेस्रो सफल कलेजो प्रत्यारोपण सम्पन्न गर्यो । रुपन्देहीका ५० वर्षीय पितालाई उनका २७ वर्षीय छोराको कलेजो दिएका थिए । त्यसपछि २४ माघ २०७६ मा काठमाडौंका ५७ वर्षीय पुरुषलाई उनकी २७ वर्षीया छोरीको कलेजोको प्रत्यारोपण गर्दै त्रिविले चौथो सफल कलेजो प्रत्यारोपण गर्यो ।
त्रिवि शिक्षणले पाँचौ कलेजो प्रत्यारोपणको योजना बनाइरहेकै बेला कोभिड-१९ महामारी सुरु भयो । त्यसले झण्डै एक वर्षसम्म कलेजो प्रत्यारोपण धकेलियो । २९ फागुन २०७७ मा त्रिविले पाँचौं तथा नेपालमै पहिलो पेडियाट्रिक कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गर्यो । जसमा ११ महिनाको बालकमा उनका ३५ वर्षीय पिताको कलेजो प्रत्यारोपण गरिएको थियो ।
८ असोज २०७८ मा छैटौ कलेजोको प्रत्यारोपण भयो, जसमा काठमाडौंका ३६ वर्षीय पुरुषलाई उनकी ३१ वर्षीया श्रीमतीले कलेजो दान दिएकी थिइन् । त्यहीबीच त्रिवि शिक्षण अस्पतालले सातौं कलेजो प्रत्यारोपण सम्पन्न गर्यो । २३ बैशाख २०७९ मा आठौं कलेजो प्रत्यारोपणका रुपमा ४८ वर्षीय पुरुषलाई उनका २७ वर्षीय छोराको कलेजो प्रत्यारोपण गरिएको थियो । २९ पुस २०७९ मा नवौं कलेजो प्रत्यारोपण गरेको थियो । जसमा काठमाडौं बाहिरका ५२ वर्षीय पुरुषलाई उनका १९ वर्षीय छोराले दायाँ कलेजो दिएका थिए ।
१० औं कलेजो प्रत्यारोपण गरेपछि डा. भण्डारीलाई त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण नियमित रुपमा गर्न सकिने विश्वास जागेको छ । ‘अब कार्यक्रम चल्छ, राम्रो हुन्छ भन्ने विश्वास लागिहरेको छ,’ उनले भने, ‘कम्प्लेक्स शल्यक्रिया भएकाले सबैको सहयोग र सद्भावको आवश्यक छ ।’