काठमाडौं—चिकित्साशास्त्रको स्नातकोत्तर तहका कार्यक्रमको भर्नामा योग्यताक्रम मिचिएको विषय संसदमा पुगेको छ । आइतबार प्रतिनिधीसभाको बैठकमा बोल्दैं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले चिकित्साशास्त्रको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दैं तत्काल सच्याउन सरकारसँग माग गरेकी छन् ।
उनले पछिल्लो समय चिकित्सा शिक्षा आयोग विचलित जस्तो देखिएको बताउँदैं चिकित्साशास्त्रको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा म्याचिङ प्रणालीमा योग्यता क्रम मिचिएको बताइन् । ‘पछिल्लो समय चिकित्सा शिषा आयोग विचलितजस्तो देखिएको छ, स्नातकोत्तर तहको विद्यार्थी भर्नामा म्याचिङ प्रणालीमा योग्यताक्रम मिचिएको छ,’ उनले भनिन् ।
डा. कार्कीले यसबारेमा अदालतबाट उचित आदेश प्राप्त भएपछि आयोगले नसच्चाएको बताइन् । ‘अदालतबाट उचित आदेश प्राप्त भयो । तर पनि भर्ना प्रक्रिया सच्याइएको छैन,’ उनले थपिन्, ‘राष्ट्रिय चिकित्सा ऐन २०७५ को परिच्छेद ६ को दफा १६, १७ र राष्ट्रिय चिकित्सा नियमावली २०७७ को परिच्छेद ५ को दफा १८ र २० मा यो योग्यताक्रम अनुसारको भर्नाको स्पष्ट व्यवस्था छ । एकीकृत प्रवेश परीक्षाको मूल मर्म नै जान्नेलाई छान्ने हो ।’
डा. कार्कीले तर यसपटक त्रुटीपूर्ण कार्यविधिले कम अंक ल्याउने विद्यार्थीले भने छात्रवृत्ति पाउने, रोजेको विषय र शिक्षण संस्था पाउने तर बढी अंक ल्याउने विद्यार्थीले भने छात्रवृत्ति पनि नपाउने, शिक्षण संस्था र विषय पनि रोज्न नपाउने अवस्था सृजना भएको उल्लेख गरिन् । ‘यसले गर्दा जेहेन्दार विद्यार्थीको मेहनतमाथि पनि कुठाराघात भएको छ । नियमावली र ऐनको ममलाई पनि यहाँ मिचिएको छ,’ उनले भनिन् ।
सांसद कार्कीले समस्या मात्र राखिनन् त्यसको समाधानका उपायहरु पनि सुझाइन् । ‘विगतका वर्षहरुमा झैं कम्प्युटर बेस प्रणालीमा म्याचिङ गर्ने हो भने त्यो समस्या समाधान हुन्छ । ऐन र नियमावलीको मर्मलाई समेटछ,’ उनले भनिन्, ‘र, अदालती आदेशको पनि सम्मान पुग्छ । तसर्थ, सभामुख महोदयमार्फत् म शिक्षामन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु–तत्कालै यो भर्ना प्रक्रिया सच्याइयोस् । र, थप क्षति हुनबाट स्वास्थ्य संयन्त्रलाई जोगाइयोस् ।’