नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धानका नतिजाहरुका आधारमा नीति तथा योजनाहरु बन्नुपर्छ भनेर आफ्नो स्थापनाकालदेखि निरन्तर रुपमा पैरवी गर्दै आइरहेको छ । परिषद्ले आफ्नो स्थापना दिवसको उपलक्ष्यमा वि. सं. २०७१ (सन् २०१५) सालबाट हरेक वर्ष स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन आयोजना गर्दै आइरहेको छ । यस वर्ष पनि ‘स्वास्थ्यका लागि अनुसन्धान: कार्यन्वयनका लागि तथ्य र अन्वेषण’ भन्ने मूल नाराका साथ नवौं राष्ट्रिय शिखर सम्मेलन आयोजना गरिएको छ ।
यो शिखर सम्मेलनको मुख्य उद्देश्य भनेको देश तथा विदेशमा छरिएर रहेका अनुसन्धानकर्ता, स्वास्थ्य क्षेत्रका साझेदारहरु तथा नीति निर्माणकर्ताहरूलाई एकै ठाउँमा जमघट गराई अध्ययन तथा अनुसन्धानका निष्कर्षहरुको आधारमा घनीभूत छलफल गरी तथ्यपरक नीति निर्माणमा सरकारलाई सहयोग गर्नु हो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ अनुसार परिषद्ले स्वास्थ्य क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्ने र गराउने कार्य गर्दै आइरहेको कुरा सर्वविदितै छ । राष्ट्रिय स्वास्थ्य नीति, २०७६ ले स्वास्थ्य अनुसन्धानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरुप गुणस्तरीय बनाउँदैं अनुसन्धानबाट प्राप्त प्रमाण र तथ्यहरुलाई नीति निर्माण, योजना तर्जुमा तथा स्वास्थ्य पद्दतिको विकासमा प्रभावकारी उपयोग गर्ने नीति लिएको छ । साथै, नेपालको संविधानले स्वास्थ्य सम्बन्धी हकलाई प्रत्येक नागरिकको मौलिक हकको रूपमा सुनिश्चित गर्दै स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य अनुसन्धानमा जोड दिने नीतिसमेत लिएको छ।
सबैका लागि स्वास्थ्य र स्वास्थ्यको लागि अनुसन्धानको महत्व दिनप्रतिदिन बढ्दैं गएको छ । स्वास्थ्यका वृहत निर्धारकहरुलाई समयमै सम्बोधन गर्न जरुरी छ । यसै परिवेशमा रहेर हामीले पोषण, जलवायु परिवर्तनलगायतका विविध विषयमा समेत अध्ययन-अनुसन्धान गर्दै आइरहेका छौं । यस क्षेत्रमा अझ गहन रूपले अध्ययन गरी स्वास्थ्य क्षेत्रको नीति निर्माण, रणनीति योजना र यसको कार्यन्वयन गर्न यस्ता राष्ट्रिय शिखर सम्मेलनको महत्वपूर्ण योगदान रहने अपेक्षा गरिएको छ ।
हामीले प्रत्येक वर्ष सम्मेलनको घोषणा पत्र जारी गर्नुका साथै प्रस्तुती भएका विषयवस्तुहरुलाई समेटी नीति सारांश तयार गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाउँदैं आएको छौं । गत वर्षको सम्मेलनपछि प्रस्तुत भएका विषयवस्तु, तथ्य र प्रमाणहरु तथा मौजुदा स्वास्थ्य क्षेत्र रणनीतिक योजनाको पनि शीघ्र समीक्षा गरी नयाँ स्वास्थ्य क्षेत्र रणनीतिक योजना तथ्य र प्रमाणमा आधारित बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा तथा नेपालका लागि बेलायती राजदूतावास (British Embassy) को सहयोगमा ५ वटा नीति सारांश (Policy Brief) तयार गरेका छौं।
१. स्वास्थ्य प्रणालीको कुशलता तथा अभिवृद्धि
२. स्वास्थ्यका वृहत निर्धारकहरुलाई सम्बोधन
३. स्वास्थ्यमा दिगो लगानी र सामाजिक सुरक्षा प्रवर्द्धन
४. गुणस्तरीय स्वास्थ्य सेवामा न्यायोचत पहुँच प्रवर्द्धन
५. जनसंख्या र बसाइँ-सराइको व्यवस्थापन
तीनै पाँच वटा नीति सारांशमा आधारित भएर नयाँ स्वास्थ्य स्वास्थ्य क्षेत्र रणनीतिक योजनाको मस्यौदा तयार भएर नेपाल सरकारबाट स्वीकृतीको प्रक्रियामा छ ।
(नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान विभागका प्रमुख डा. धिमालले नीति सारांश (Policy Brief) विमोचनका क्रममा राखेको मन्तव्य सम्पादित अंश)