२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई सर्पदंशको उपचारका लागि अनुमति

दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई सर्पदंशको उपचारका लागि अनुमति


धनगढी—स्वास्थ्य सेवा विभागले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति दिएको छ । सोमबार स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले स्वास्थ्य केन्द्रलाई सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति दिएको हो ।

दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई वि.सं २०८३ चैत १९ गतेसम्मका लागि सर्पदंश उपचार केन्द्रका लागि अनुमति दिएको छ । महाशाखाले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्रलाई सर्पदंशका बिरामीको उपचारका प्रयोग गरिने एन्टिस्नेक भेनम उपलब्ध गराउन पत्राचार पनि गरेको छ ।

सर्पदंश उपचारका लागि अनुमति पाएसँगै स्वास्थ्य केन्द्रमा सर्पदंशका बिरामीलाई सेवा प्रदान गरिने निमित्त प्रमुख डा. राजेश जोशीले बताए । ‘अब एन्टिस्नेक भेनम आएपछि उपचार सुरु हुन्छ । बाँकी जनशक्ति र भौतिक संरचनाको सम्पूर्ण तयारी पूरा भइसकेको छ,’ उनले भने, ‘अहिले हामीसँग आईसीयुको सुविधा नभएकाले सामान्य बिरामीको उपचार गर्न सक्छौं । आईसीयु आवश्यक पर्ने बिरामी रेफर गर्नुपर्छ ।’

अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा चार मेडिकल अधिकृत कार्यरत छन् । तीमध्ये एक जना सर्पदंशको उपचार तालिमप्राप्त छन् । प्राथमिक स्वास्थ्य केन्द्र एक भेन्टिलेटर जडित छ ।

महाकालीपारीको दोधारा चाँदनी नगरपालिकाका बासिन्दाको स्वास्थ्य सेवाका लागि वडा नं ६ मा एकमात्रै प्राथमिक स्वास्थ्य केन्द्र छ । दोधारा चाँदनीका सर्पदंशका बिरामीले उपचारका लागि भारत तथा महेन्द्रनगरतर्फ आउनुपर्ने बाध्यता छ ।

केही महिनाअघि सो स्वास्थ्य केन्द्रमा रेबिजको खोप सेवा पनि थपेको थियो । महाकालीपारीको दोधारा चाँदनी क्षेत्रको एकमात्र प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैय्याको अस्पतालका रूपमा परिणत गर्ने योजना बनाएको नगरपालिकाले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ