कलैया—बारा २ मा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार जुलुससहित कलैयास्थित जिल्ला समन्वय समितिको कार्यलयस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यलयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
१० बैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुअघि उनले बारा २ का मतदाताले बोलाएकाले आफू चुनाव लड्न आएको बताउँदैं आफू आएपछि जनतामा उत्साह भरिएको प्रतिक्रिया दिएका छन् ।
जनता समाजवादीका अध्यक्ष समेत रहेका यादव यसअघि सप्तरी २ मा पराजित भएका थिए । सप्तरीमा २ मा उनी जनमत पार्टीका अध्यक्ष सिके राउतले उनलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका थिए । राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले भने १६ हजार ९ सय ७९ मत मात्रै पाएका थिए ।
बारा २ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि यो क्षेत्रमा उपचुनाव हुन लागेको हो । यो निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह र रास्वपाबाट रमेश खरेलले उम्मेदवारी दिएका छन् ।
यसअघि लोसपाले यो क्षेत्रमा पूर्व स्वास्थ्य मन्त्री राजेन्द्र महतोलाई उम्मेदवार बनाउने तयारी गरेको थियो । तर, लोसपाले अन्तिममा यादवलाई नै समर्थन गरेको थियो । यादवलाई लोसपासहित सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरुको समेत समर्थन छ ।