२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा पहिलो पटक टाउको खोलेर शल्यक्रिया, बालकको मतिष्कमा गाडिएको हड्डी निकालियो

कोशीमा पहिलो पटक टाउको खोलेर शल्यक्रिया, बालकको मतिष्कमा गाडिएको हड्डी निकालियो


विराटनगर–मोरङको जहदा गाउँपालिका–२ नयाँटोलका ७ वर्षीय बलवीर राजभार खेल्ने क्रममा टाउकोमा बाँसको भाटा लागेर दुई हप्ता अगाडि गम्भीर घाइते भए । आर्थिक अवस्था नाजुक रहेको राजभार परिवारले उपचार गर्ने खर्च नभएपछि झण्डै एक हप्ता घरमै बलवीरलाई राखे ।

बलवीरको टाउको दुःखेर असह्यै पीडा हुन थालेपछि मात्रै चोट लागेको एक हप्तापछि ५ चैतमा ठूलो बुवा उमेश राजभारले कोशी अस्पतालको ओपीडीमा लिएर आए । जब अस्पतालका न्यूरो सर्जन डा. चन्द्रप्रकाश यादवले राजभारको टाउमा लागेको चोट हेरे, उनी चकित भए ।

मिस्त्री गरेर पाँच जनाको परिवार पाल्दै आएका दिनेशसँग छोराको उपचार गर्ने खर्च नभएको कारणले उपचार गर्न ढिलो आएको ठूलो वुवा उमेशले चिकित्सकलाई बताए । त्यसपछि अस्पताल प्रशासनले निःशुल्क शल्यक्रिया र उपचार गर्ने घोषणा गरिदियो । त्यसलगतै अस्पतालका न्यूरो सर्जन डा. यादवको नेतृत्वको टोलीले राजभरको ढेड घण्टा लगाएर सफल शल्यक्रिया गरेको छ । ‘बाँसले लागेर टाउको हड्डी फुटेर मतिष्कभित्र गाडिएको सिटी स्क्यान गरेपछि थाहा भयो । त्यसपछि शल्यक्रिया गरेर गाडिएको हड्डी निकालेका छौं,’ डा. यादवले भने, ‘अहिले ठिक ठाउँमा आएको छ । बिरामीको अवस्था सुधार भइरहेको छ ।’

सोमबार शल्यक्रिया गरिएको १० दिनपछि बिरामी बलवीरलाई डिस्चार्ज दिने तयारी गरिएको उनले बताए । ‘बिरामी अहिले खान, बस्न र हिडडुल गर्न सक्ने भएका छन् । शल्यक्रियापछि क्रमिक रुपमा सुधार आएपछि डिस्चार्जको तयारी गरिएको हो,’ डा. यादवले भने । बालककोे उपचार गरिरहेका चिकित्सक यादवका अनुसार अहिले स्वास्थ्य अवस्था खतरामुक्त रहेकोले डिस्चार्जको तयारी गरिएको हो ।

यस्ता बिरामीको उपचार जतिसक्दो चाँडै नगरे छारेपन आउने सक्ने सम्भावना बढी हुने उनले बताए । ‘रगत जम्न सक्ने हुन्छ । भोलिको दिनमा बच्चाको एक साइट खुट्टाहरू कमजोर हुन सक्छ । त्यसले गर्दा चाँडै शल्यक्रिया गरिनुपर्ने हुन्छ । र, त्यो मतिष्कमा गाडिएको हड्डी निकाल्नुपर्ने हुन्छ,’ डा. यादवले भने ।

टाउको खोलेर गरिएको यो शल्यक्रिया कोशी अस्पतालमा पहिलो भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट सह—प्राध्यापक डा. रविनराज सिंहले बताए । ‘यसअघि अस्पतालमा टाउकोको सिस्टहरू निकाल्ने गरिएको थियो । अहिले टाउको खोलेर मतिष्कमा गाडिएको हड्डी निकाल्ने शल्यक्रिया यो कोशी अस्पतालमा पहिलो हो,’ उनले उनले भने, ‘सफल शल्यक्रिया भएको छ ।’ कोशीमा न्यूरो सर्जरीको सेवाहरु अहिले संचालनमा रहेको उनले बताए । आर्थिक रुपमा विपन्न परिवारले उपचार खर्च नभएको बताएपछि अस्पतालले शल्यक्रियादेखि उपचार खर्च पनि निःशुल्क गरेको उनले बताए ।

उपचारपछि छोराको स्वाथ्य अवस्था ठिक भएपछि ठूला बुवा उमेश हर्षित मुद्रामा देखिएका छन् । ‘अहिले छोरा हाँस्न र बोल्न सक्ने भएको छ । १० दिनको उपचारपछि सोमबार डिस्चार्ज हुने भएको छ,’ उनले भने, ‘चिकित्सक र अस्पतालले छोरालाई बचाउन गरेको यो सहयोग म बिर्सन सक्दिनँ । उपचारमा सहयोग पु¥याउने प्रति आभारी छु ।’

कोशीको न्यूरो सर्जरीमा जनशक्ति र उपकरणको अभाव

न्यूरो सर्जरी सेवा सुरू भएको कोशी अस्पतालमा पर्याप्त मात्रामा जनशक्ति र उपकरणहरुको अभाव रहेको चिकित्सकहरुले बताएका छन् । कोशीमा न्यूरो सर्जन एक जनाको दरबन्दी छ । उक्त दरबन्दी पदपूर्ति भएको छ ।

न्यूरो सर्जरी वार्डमा मेडिकल अधिकृत नहुँदा समस्या भएको उपचारमा संलग्न चिकित्सक बताउँछन् । ‘न्यूरो सर्जरी वार्डमा मेडिकल अधिकृत र नर्सहरुको आवश्यकता छ । त्यससँगै थप उपकरणहरुको पनि आवश्यक रहेको छ,’ न्यूरो सर्जन डा. चन्द्रप्रकाश यादवले भने, ‘तत्काल पोस्टअप र माइक्रोस्कोपीक उपकरण भए न्युरो सर्जरीका ठूला–ठूला शल्यक्रिया गर्न सकिने थियो ।’

थप जनशक्ति र पर्याप्त उपकरणहरु भए ब्रेन ट्युमरको शल्यक्रियादेखि मेरुदण्डसम्मको उपचार गर्न सकिने उनले बताए । न्युरो सर्जरी आईसीयूको पनि आवश्यक रहेको उनले बताए । ‘यो जरुरी छ । अप्रेसन गर्नुमात्र ठूलो कुरा होइन् । त्यसपछि हुनुपर्ने केयर मुख्य विषय हो,’ उनले भने, ‘त्यसैले जनशक्तिको आवश्यकता छ ।’

कोशीको ओपीडीमा हप्ताको तीन दिन न्यूरो सर्जरीको सेवाहरु हुने गरेको छ । सोमबार, बुधबार र बिहीबार ओपीडीमा चिकित्सक डा. यादव बस्ने गरेका छन् भने शल्यक्रिया हप्ताको दुई दिन हुने गरेको छ । शल्यक्रिया आइतबार र मंगलबार हुने गरेको अस्पतालले जनाएको छ ।

कोशी अस्पतालका निमिक्त मेसु डा. सिंहले २० वर्ष अगाडिको दरबन्दीअनुसार अहिले काम भइरहेको बताए । ‘त्यो बेला बिरामीको चाप एकदमै कम थियो । त्यसबेलामा ओपीडीमा ५ देखि ६ सय बिरामी हुने गरेका थिए । अहिले दैनिक ओपीडीमा १५ सय देखि २ हजारसम्म बिरामी आउने गरेका छन्,’ डा. सिंहले भने, ‘पूरानो दरबन्दीअनुसार स्वास्थ्यकर्मीहरुले काम गरिरहेका छन् । अहिले ओएनम सर्वे भएको छ । यो सदर भएर आएपछि जनशक्ति थप हुनेछ । यसको लागि हामीले पहल गरिरहेका छौं ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ