२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमुक्तिनाथ दर्शनका लागि पुगेका दुई जना भारतीय पर्यटकको लेक लागेर मृत्यु

मुक्तिनाथ दर्शनका लागि पुगेका दुई जना भारतीय पर्यटकको लेक लागेर मृत्यु


पोखरा – धार्मिक यात्रामा मुक्तिनाथ आएका भारतीय नागरिकको लेक लागेर मृत्यु भएको  छ । उडिसाका ६४ वर्षीय बुंगा मुर्ली लेक लागेर शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुक्तिनाथ दर्शनका लागि भारतबाट २७ जनाको टोली हवाई मार्ग हुँदै मुक्तिनाथ पुगेको थियो ।

मुक्तिनाथ दर्शनका लागि मन्दिर पुगेका उनी बेहोस भएर ढलेका थिए । उनलाई जिल्ला अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । दर्शनमा आएको टोली रेल्वे रिटायर्ड भएको इन्सपेक्टर मिलन विकले जानकारी दिए ।

यस्तै, बिहीबार बेनी–जोमसोम सडक मार्ग हुँदै मुस्ताङको जोमसोम पुगेको भारतको हैदरावादबाट आएको २२ जनाको टोलीमध्ये १ महिलाको मृत्यु भएको थियो । जोमसोमबाट मुक्तिनाथ जाने क्रममा रानीपौवा बसपार्कमा लेक लागेर बेहोस भएकी रुपा थाङ्लाको जोमसोम अस्पताल पुग्दा मृत्यु भइसकेको थियो ।

प्रहरीका अनुसार हाइअल्टिच्युडका कारण श्वासप्रश्वासमा समस्या हुँदा थाङ्लाको मृत्यु भएको हो । थाङ्लाका पतिलाई जोमसोम पुग्दा नै श्वासप्रश्वासमा समस्या देखिएपछि हवाइजहाजमार्फत् पोखरा पठाइएको थियो ।

जिल्ला अस्पताल मुस्ताङका निमित्त मेसु डा. विशाल तिवारी मुस्ताङ पुग्ने पर्यटकमध्ये केहीलाई लेक लाग्ने समस्या देखिने गरेको बताउँछन् । उनकाअनुसार एकै दिन २ हजार मिटर हाराहारीमा पार गर्दा लेक लाग्ने हुन्छ ।

हल्का टाउको दुख्ने, श्वास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, वाकवाकी लाग्ने, डायरिया हुने लेक लागेका लक्षण हुन् । समस्या बढ्दै गए फोक्सो र गिदीमा सुन्निने गर्छ । फोक्सो र गिदीले काम नगरेपछि बाँच्ने सम्भावना पनि कम हुन्छ । ‘मुस्ताङमा आउनेहरूमा धेरै नै लेक लाग्ने समस्या भएको भेटिन्छ ।

प्रेसर, सुगरलगायत दीर्घ रोग भएका बिरामी र ६०/७० नाघेमा वृद्धहरु डाक्टरको परामर्श लिएर मात्रै हाइ अल्टिच्युट (हिमाली क्षेत्र) मा जानु उपयुक्त हुन्छ,’ मेसु डा.तिवारी भन्छन् । हाई अल्टिच्युटमा जानुपर्ने भएमा एसेटाजोलामाइट औषधी लिनु राम्रो हुन्छ, जुन हाई अल्टिच्युटमा घुम्न जानुभन्दा १/२ दिन अगाडि खाएर गएमा लेक लाग्ने सम्भावना कम हुने मेसु डा.तिवारीको भनाइ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ