२०८१ पुस ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशसिभिलको पर्वतमा ३ दिने सुपरस्पेसियालिटी स्वास्थ्य शिविर, ३६ सय बढीले लिए सेवा

सिभिलको पर्वतमा ३ दिने सुपरस्पेसियालिटी स्वास्थ्य शिविर, ३६ सय बढीले लिए सेवा


काठमाडौं—सिभिल सर्भिस अस्पतालले पर्वतमा आयोजना गरेको तीन दिने निःशुल्क सुपरस्पेसियालिटी स्वास्थ्य शिविरबाट  ३ हजार ६ सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । पर्वतको कुष्मा नगरपालिकाको ठूली पोखरीमा २१, २२ र २३ फागुनमा भएको उक्त तीन दिने सुपरस्पेसियालिटी शिविर मंगलबार सम्पन्न भएको हो ।

‘हामीले निजामती दिवसको अवसर पारेर सिभिल अस्पतालको आयोजनामा  निःशुल्क सुपरस्पेसियालिटी स्वास्थ्य शिविर उत्साहजनक रुपमा सम्पन्न गरेका छौं,’ सिभिलका कार्यकारी निर्देशक डा. विधाननिधी पौडेलले भने, ‘झण्डै ३ हजार ६ सयभन्दा बढी मानिसले शिविरबाट विशेषज्ञ सेवा निःशुल्क पाउनुभएको छ ।’ हेल्थ क्याम्पमा एउटा रोगको चेकअप गर्न आएका बिरामीले अन्य विभिन्न रोगहरुको समेत विशेषज्ञ सेवा लिएका थिए ।

जनरल सर्जरी, स्त्री तथा प्रसुति, पेट रोग, ईएनटी, छाला रोग, पेडियाट्रिक, हाडजोर्नी, साइक्रयाट्रिक, डेन्टल, आँखा रोगलगायतका विशेषज्ञ सेवाहरु स्थानीयलाई उपलब्ध गराइएको थियो ।

‘हामीले सबैजसो विशेषज्ञ सेवाहरु शिविरमै उपलब्ध गराएका कारण स्थानीयहरु निकै लाभान्वित भए,’ डा. पौडेलले भने, ‘काठमाडौंका ठूला अस्पताल पाइने विशेष सेवा गाउँमै उपलब्ध भएपछि धेरै रोग निवारणका लागि शिविर सहयोगी बन्यो ।’

शिविरमा विशेषज्ञ सेवासँगै एक्सरे, भिडियो एक्सरे, इसिजी, प्रयोगशाला परीक्षण सेवा पनि उपलब्ध गराइएको थियो । शिविर उपचार गर्न आउने बिरामीलाई औषधि पनि निःशुल्क उपलब्ध गराइएको थियो ।

शिविरमा सिभिल अस्पतालका चिकित्सक, नर्स, पारामेडिक्सलगायतका टिमले सेवा दिएको थियो । उक्त शिविरको सहआयोजक कुश्मा नगरपालिका रहेको थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ