काठमाडौँ–स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले दूर दराजमा स्वास्थ्य सेवा दिने जनशक्तिको नियोजन भइरहेको जनाएका छन् । बुधबार नेपाल स्वास्थ्य व्यवसायी परिषद्को २७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति दिन स्वास्थ्य व्यवसायी परिषद्को महत्त्वपूर्ण भूमिका रहेको बताउँदै मन्त्री गिरीले दूरदराजमा स्वास्थ्य सेवा दिने जनशक्तिको नियोजन भइरहेको जनाएका हुन् ।
‘एकातर्फ दूरदराजसम्म डाक्टर, नर्स, पारामेडिक्स चाहिएको छ । तर, दूरदराजमा जाने जनशक्ति नियोजन गर्ने काम भइरहेको छ’ उनले थपे, ‘हामी उल्टो दिसामा हिँडेका छौं । कोही भोकै बसेको अवस्थामा भावनामा बग्छौँ र हामी उसकै पछि हिँड्दिन्छौँ । आजको हाम्रो अवस्था के हो र आवश्यकता के हो भन्ने पनि हेरौँ । शिक्षाका लागि विदेशिन बाध्य भएका छन्। विदेश पठाउँदा पनि अदक्ष मात्र पठाउने परिपाटी भएको छ । चिकित्सा शिक्षाको विषयमा अब नयाँ बहस जरुरी छ ।’
त्यस्तै, मन्त्री गिरीले गुणस्तरीय चिकित्साका लागि ऐन नियम कानुन बाधक छन् भने त्यसलाई संशोधन गर्ने र समयानुकूल परिवर्तन आवश्यक रहेको जनाए । ‘ऐन मान्दिन भन्न पाइँदैन तर समस्या छन् भने संशोधन गर्दै अगाडी बढ्नुपर्छ,’ उनले भने ।
उनले आम जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य प्रदान गर्न सकिन्छ भन्ने एक मात्र लक्ष्य रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा एउटा युगान्त परिवर्तन ल्याउने गरी काम गर्ने जनाए ।
उनले भने, ‘एक महिना मा के गरिस् भन्ने कुरा आउँछ ? तर हतारमा निर्णय गरेर पछुताउने होइन् । अहिले हामी सबै क्षेत्र हेरिरहेका छौ एक्सन केही दिनमा देख्नुहुनेछ ।’
त्यस्तै कार्यक्रममा सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारीले पारामेडिकल जनशक्तिहरू उच्च पदका चिकित्सकहरू अन्तर्गत बस्नुपर्ने स्थिति रहेको जनाए । उनले यी अध्ययन क्षेत्रमा कसरी ऐनका कारण असहज परिस्थिति सिर्जना भएको छ भन्ने कुरालाई पनि औँल्याए । तर, पारामेडिक्सका जनशक्तिलाई कटौती गर्दै एउटा बाधा सिर्जना भएको जनाए ।
कार्यक्रममा सम्बोधन गर्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले चिकित्सा शिक्षा भन्नाले डाक्टरहरुले प्राप्त गर्ने शिक्षा मात्र नभएर सम्पूर्ण पारामेडिक्स पर्ने जनाए । उनले ऐन निर्माण गर्ने निकाय संसद रहेको बताउँदै ऐनको कार्यान्वयन गर्नका लागि आफूहरु नियमनकारीका रुपमा रहेको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले परिषद्सँग जोडिएका सम्पूर्ण चुनौतीहरूलाई समाधान गर्नका लागि मन्त्रालय सहकार्य गर्न तयार रहेको जनाए ।