काठमाडौं—सरकारले एकै पटक शिलान्यास गरेर निर्माण घोषणा गरेका ३९६ वटा आधारभूत अस्पतालमध्ये १७ वटा अस्पतालमात्रै निर्माणको अन्तिम चरणमा पुगेका छन् । सरकारले दुई वर्षअघि एकै चरणमा देशभरका ३९६ स्थानीय तहका ५, १० र १५ शैय्याका आधारभूत अस्पताल एकै चरणमा शिलान्यास गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यो अवधिमा १७ वटा आधारभूत अस्पताल मात्रै निर्माणको अन्तिम चरणमा पुगेका छन् । अन्तिम चरणमा पुगेका आधारभूत अस्पतालहरुले अन्तिम निकासा (छैटौं किस्ता)का लागि मन्त्रालयसँग माग गरिसकेका छन् ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुकाअनुसार उनीहरुले माग गरेअनुसारको रकम भुक्तानीको सहमतिको लागि अर्थ मन्त्रालय पठाइएको छ । छैटौ किस्ता माग गर्ने पालिकाहरुमा सुनसरीको देवानगन्ज नगरपालिकाको १० शैय्याको अस्पताल, खोटाङको केपिलासगढी गाउँपालिका र जनतेढुंगा गाउँपालिकाको १५-१५ शैय्याका अस्पताल रहेका छन् ।
यस्तै धनुषाको बटेश्वर गाउँपालिका १० शैय्या र धनुषाधाम नगरपालिकाको १५ शैय्या, सप्तरीको कन्चनपुर नगरपालिका १५ शैय्या, सिरहाको मिर्चैया नगरपालिकाको १५ शैय्या, रौतहटको देव गोनाही नगरपालिका १५ शैय्याको अस्पताल अन्तिम चरणमा पुगेका छन् ।
पर्वतको जलजला गाउँपालिकाको १० शैय्या र महाशिला गाउँपालिकाको १५ शैय्या, गोरखाको बारपाक सुलीकोट गाउँपालिकाको १५ शैय्या, प्युठानको झिमरुक गाउँपालिकाको १५ शैय्या र गुल्मीको चन्द्रकोट गाउँपालिकाको १५ शैय्याको अस्पताल रहेका छन् ।
यसैगरी, जाजरकोट छेडागाडा नगरपालिकाको १५ शैय्या, सुर्खेतको चौकुने गाउँपालिकाको १५ शैय्या, दैलेखको आठबीस नगरपालिका १५ शैय्या र गन्यापधुरा गाउँपालिकाको १५ शैय्याको अस्पताल रहेका छन् ।
सरकारले ५ शैय्याका लागि ७ करोड रुपैयाँ, १० शैय्याको ११ करोड र १५ शैय्याका लागि १८ करोड बजेट छुट्याएको थियो । ३९६ आधारभूत अस्पताल निर्माण दुई वर्षमा सक्ने लक्ष्यका साथ ५८ अर्ब ८० करोड बजेट बिनियोजन गरिएको थियो ।
हालसम्म आधारभूत अस्पताल निर्माणका लागि स्थानीय तहहरुले १६ अर्ब ६१ करोड बढी भुक्तानी लगिसकेका छन् ।