काठमाडौं—कोभिड—१९ को नयाँ भेरियन्ट ओमिक्रोनमा प्रभावकारी मानिएको फाइजरको नयाँ खोप काठमाडौंमा आइपुगेको छ । सोमबार विहान कतार एयरलाइन्समार्फत फाइजरको नयाँ खोप ‘वाइभ्यालेन्ट’को ३ लाख ४५ हजार डोज काठमाडौं आइपुगेको हो ।
उक्त खोप विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधामार्फत नेपाल आएको हो । ‘आज हामीले वाइभ्यालेन्टको पहिलो खेप बुझेका छौं,’ खोप भण्डार शाखाका प्रमुख बडेबाबु थापाले भने, ‘अब केही दिनमा परिवार कल्याण शाखाले तालिका बनाइसकेको छ । त्यहीअनुसार खोप प्रदेशमा पठाउँछौं ।’
उनकाअनुसार आइपुगेको खोपलाई विभागको खोप भण्डारण केन्द्रमा राखिएको छ । यो खोप प्रदेशमा पठाउन भने केही दिन लाग्ने उनले जानकारी दिए ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले कोभिड—१९ को भ्याक्सिनको व्यवस्थापनमा जुट्न पनि स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएका थिए ।
पछिल्लो समय चीन र जापानलगायतका देशहरुमा कोभिड—१९ संक्रमण तीब्र बनेपछि सरकारले कोभ्याक्ससँग भ्याक्सिन माग गरेको थियो । सोहीअनुसार कोभ्याक्सले गाभीमार्फत नेपाललाई ‘वाइभ्यालेन्ट’ पठाएको हो ।