काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले औषधी व्यवस्था विभागलाई परिणाममुखी काममा जुट्न निर्देशन दिएका छन् । मंगलबार विभागको निरिक्षणमा गएका मन्त्री गिरीले जनताले अनुभूति गर्ने गरी परिणाममुखी काममा जुट्न निर्देशन दिएका हुन् ।
‘औषधी व्यवस्था विभागले प्रणाली र सेवामा परिवर्तन दिएको छ, जनताप्रति पूर्ण उत्तरदायित्वका साथ सेवा दिएको छ भन्ने कुरा आम मानिसले अनुभूति गर्ने गरी परिणाममुखी भएर काममा जुट्नुहोस्,’ उनले भने ।
स्वास्थ्यमन्त्री गिरीले अहिले आफू विभिन्न विभाग तथा केन्द्रहरुको अवस्था बुझिरहेकाले विभागको पूर्वाधारलगायतका वस्तुगत अवस्थालाई उच्च प्राथमिकतामा राखेर निरीक्षणमा आएको बताए । उनले औषधी व्यवस्था विभागको धेरै ठूलो जिम्मेवारी रहेको उल्लेख गर्दै आम नागरिकको जीवनको सुरक्षाको सवाल विभागका कामसँग जोडिएको बताए ।
‘यो विभाग जति धेरै प्रभावकारी रुपमा काम गर्न सक्छ, स्वस्थ नागरिक तयार गर्ने कुरामा त्यति नै योगदान हुन सक्छ,’ उनले भने । बजारमा अहिले पनि गुणस्तरहीन औषधीहरु छ्यापछ्याप्ती रहेको उनको भनाइ थियो । ‘अहिले तपाईंहरुले बजारमा ७ प्रतिशत गुणस्तरीय औषधीहरु छन् भन्नुभयो, अझ म्यासीभ रुपमा जाँदा यसको आँकडा बढ्न सक्छन्,’ उनले थपे ।
जनशक्ति नभएको वा यो त्यो बहानाका जनताको स्वास्थ्यसँग खेलवाड गर्न नमिल्ने मन्त्री गिरीको तर्क थियो । ‘जनशक्ति छैन, प्रयोगशालामा हाम्रा केही लिमिटेसन छन्, हामीले गर्न सकिरहेका छैनौं भन्न पाइदैंन्,’ उनले भने, ‘यसमा प्रभावकारी कार्ययोजना बनोस भन्ने म चाहन्छु । मन्त्रालय सहयोग गर्न तयार छ ।’
उनले विभागबाट देशभरका औषधी पसलबाट कस्ता औषधी बिक्री भएका छन् भन्ने थाहा पाउन गाह्रो पर्ने बताए । उनले आगामी वर्ष सातवटै प्रदेशमा शाखा कार्यलय विस्तार गर्ने र प्रदेशस्तरमा काम गर्ने गरी विभागलाई ठोस कार्ययोजनाका साथ आउन समेत आग्रह गरे । ‘त्यसमा मन्त्रालयको तर्फबाट हामी आवश्यक काम गर्छौ,’ उनले भने, ‘अहिले बजेट निर्माणको क्रममा छ । आगामी वर्ष त्यसलाई सम्बोधन गर्छौ ।’
दक्षिण एसियाली देश बंगलादेशले औषधी उत्पादनमा फड्को मारेको उल्लेख गर्दै मन्त्री गिरीले एसियामात्रै नभएर युरोपसम्म आफ्नो बजार विस्तार गरेको बताए । ‘औषधी उत्पादनबाट बंगलादेशले राजस्वको ठूलो हिस्सा संकलन गर्ने गरेको छ,’ उनले भने, ‘हामी पनि त्यसतर्फ लाग्नुपर्छ, अत्यावश्यक औषधीहरु उत्पादन गर्नुपर्छ र आत्मनिर्भर बन्नेतर्फ लाग्नुपर्छ ।’ नाकाबन्दीका बेला सहेका पीडातर्फ फर्केर हेर्न आग्रह गर्दै उनले त्यसका लागि सही कार्ययोजना बनाउन निर्देशन दिए ।
विभागले बजेटको ७ प्रतिशतमात्रै पुँजीगत खर्च गरेको भन्दैं उनले यसको कारण खोज्न समेत निर्देशन दिए । औषधी व्यवसायीहरुले बेला-बेलामा गुनासो गर्ने गरेको बताउँदैं मन्त्री गिरीले गुणस्तर र अनुगमनमा निर्मम हुने तर दर्ता र नवीकरणमा खुकुलो प्रक्रिया अपनाउनुपर्ने बताए । उनले अहिलेको समयमा अनलाइनबाटै यो काम गर्ने व्यवस्था गर्नसमेत निर्देशन दिए ।