सल्यान – सल्यानको शारदा नगरपालिका–६ बरलामा सञ्चालित एक दिने निःशुल्क पशुपन्छी स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशुपन्छीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर शिविर सम्पन्न भएको हो ।
शारदा नगरपालिकाको आयोजनामा तथा पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान र सहिद नेत्रलाल बहु प्राविधिक शिक्षालयको प्राविधिक सहयोगमा बुधवार बरलामा एक दिने निःशुल्क पशुपन्छी स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा १३ सय बढी पशुपन्छीको उपचार भएको छ । २३ गाई, ६७ भैँसी, चार सय ३२ बाख्रा, २३ बङ्गुर, ८ कुकुर/बिराला र ७ सय ७९ कुखुराको स्वास्थ्य चेकजाँच, उपचार तथा खोप सेवा प्रदान पशु सेवा शाखाले जनाएको छ ।
पशु स्वास्थ्य शिविरमा नगरको वडा नम्बर ६, ७, १४ र १५ का पशुपन्छीपालक किसानहरूले स्वास्थ्य जाँच गराएको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले बताए ।