अध्ययनमा दूधलाई पूर्ण आहार भनिएको छ, यसबाट शरीरलाई आवश्यक पर्ने प्रोटिन र क्याल्सियमलगायतका अधिकांश पोषक तत्त्वहरू सजिलै प्राप्त गर्न सकिन्छ ।
सबैले आफ्नो दैनिक आहारमा दूध समावेश गर्नुपर्ने आहारविद्हरू बताउँछन्, यसले शरीरलाई विशेष फाइदा पुर्याउँछ । राती सुत्नुअघि तातो दूध पिउनाले राम्रो निन्द्रा लाग्छ र यसमा पाइने पौष्टिक तत्त्वले धेरै रोगहरूबाट बच्न पनि मद्दत गर्छ ।
जाडो मौसममा चिसोका कारण धेरै प्रकारका मौसमी रोग र साइड इफेक्टको जोखिम हुने स्वास्थ्य विज्ञहरू बताउँछन् । यस्तो अवस्थामा दूधमा केही औषधी मिसाएर सेवन गर्नु तपाईँको लागि निकै फाइदाजनक हुन सक्छ ।
यी औषधिहरूले दूधको शक्तिलाई धेरै गुणा बढाउने मात्र होइन, रोग प्रतिरोधात्मक क्षमता बढाउन र शरीरलाई स्वस्थ राख्न पनि फाइदाजनक हुन्छ ।
दूध सबैका लागि आवश्यक छ
स्वास्थ्य विज्ञहरू सबैले आफ्नो दैनिक आहारमा दूध समावेश गर्न आवश्यक रहेको बताउँछन् । दूध भिटामिन र खनिजको उत्कृष्ट स्रोत हो । यसबाट पोटासियम, भिटामिन–बी १२, क्याल्सियम र भिटामिन–डी प्राप्त गर्न सकिन्छ, जसको हाम्रो शरीरलाई धेरै आवश्यकता हुन्छ ।
दूध पिउनाले भिटामिन ए, म्याग्नेसियम, जिङ्क र थायामिन (बि१) पनि उपलब्ध हुन्छ । दूधले शारीरिक र मानसिक स्वास्थ्यलाई कायम राख्दै रोगको जोखिम कम गर्न फाइदा गर्छ ।
आउनुहोस् जानौँ दूधमा कुन–कुन चिज मिसाएर सेवन गर्दा विशेष फाइदा हुन्छ ?
बेसारयुक्त दूध पिउनुका फाइदाहरू
जाडोमा दूधमा बेसार मिसाएर सेवन गर्नु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । बेसारमा एन्टिमाइक्रोबियल र एन्टी–इन्फ्लेमेटरी गुणहरू छन् भनेर चिनिन्छ । जाडोमा यसको सेवनले प्रतिरक्षा प्रणाली बढाउन र तपाईँलाई न्यानो र आरामदायी महसुस गर्न मद्दत गर्दछ ।
बेसारको दूध पिउनाले चिसो मौसममा हुने रुघाखोकी र फ्लु जस्ता समस्याको जोखिम पनि कम हुन्छ ।
दूधमा अदुवा मिसाउनुहोस्
दूधमा बेसार मिसाएर अदुवा र कालो मरीचको सेवन गर्नु अझ फाइदाजनक मानिन्छ । अदुवायुक्त दूधले मौसमी फ्लुसँगै चिसोका कारण कफ जम्ने समस्यालाई कम गर्न र शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।
अदुवाको सेवनले शरीरमा सुन्निने र कफको समस्या कम गर्न फाइदाजनक हुन्छ । यसले रुघाखोकीमा पनि राहत दिन्छ ।
दूधमा ड्राई फ्रुट मिसाउनुहोस्
राती सुत्नुअघि दूधमा मिसाएर ड्राइ फ्रुट खाँदा शरीरको शक्ति बढ्नुका साथै राम्रो निद्राका लागि पनि फाइदाजनक पाइन्छ । दूधसँगै सुख्खा फलफूल ऊर्जाको उत्तम स्रोत हो ।
खजूर, ओखर, बदाम जस्ता नट्सहरूले शरीरलाई भित्रबाट तातो राख्छ र पोषक तत्त्वहरू पनि प्रदान गर्दछ । नटको सेवन मुटु रोगमा पनि निकै फाइदाजनक रहेको पाइएको छ ।
अमरउजालाबाट भावानुवाद