काठमाडौं—नेकपा माओवादी केन्द्रको स्वास्थ्य विभागले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैले राख्नुपर्ने माग गरेको छ । शनिबार बालुवाटार पुगेका माओवादी स्वास्थ्य विभाग प्रमुखसहितको टोलीले माओवादी केन्द्रले स्वास्थ्य आफूसँग राख्न नसकेको अवस्थामा एमालेलाई दिन पत्र नै लेखेर प्रधानमन्त्रीसँग आग्रह गरेको हो ।
माओवादी केन्द्रको स्वास्थ्य विभागकी प्रमुख कल्पना धमलासहितको टोलीले स्वास्थ्य संवेदनशील र जनतासँग प्रत्यक्ष जोडिएको मन्त्रालय भएकाले अनुभवी र खारिएको व्यक्तिलाई मन्त्री बनाउन समेत माग गरेको छ ।
‘स्वास्थ्य मन्त्रालय संवेदनशील र जनतासँग जोडिएको मन्त्रालय भएकाले अनुभवी र खारिएको व्यक्तिलाई जिम्मेवारी दिनुपर्छ भनेका छौं,’ माओवादी स्वास्थ्य विभागकी प्रमुख कल्पना धमलाले भनिन्, ‘मन्त्रालय माओवादीले नै लिनुपर्छ भनेका छौं । यदि माओवादीको भागमा परेन भने देशभरि संगठन भएको एमालेका साथीहरुसँग छलफल भएर पीएमलाई पनि त्यही जानकारी गराएका छौं ।’ उनले ठूला दलहरुले स्वास्थ्य मन्त्रालय लिँदा सेवा प्रवाहलाई पनि प्रभावकारी बनाउन सकिन्छ भन्ने सुझाव प्रधानमन्त्रीलाई दिएको उल्लेख गरिन् ।
साथै, विभागले प्रधानमन्त्रीलाई अझै कोभिड—१९ को जोखिम कायम रहेको उल्लेख गर्दै यो जोखिमलाई केन्द्रमा राखेर पनि सशक्त नेतृत्व स्वास्थ्यमा ल्याउन सुझाव दिएको छ । उसले स्वास्थ्य मन्त्रालयमा प्रभावकारी काम नहुँदा त्यसको असर प्रधानमन्त्री र पूरै सरकारलाई समेत पर्ने अवगत गराएको थियो ।