२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपत्यकामा वर्षमा १ लाख ८ हजार मानिस कुकुरको टोकाइबाट पीडित

उपत्यकामा वर्षमा १ लाख ८ हजार मानिस कुकुरको टोकाइबाट पीडित


काठमाडौँ – उपत्यकामा वर्षमा १ लाख बढी मानिस कुकुरको टोकाइबाट घाइते हुने गरेको पाइएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ट्रपिकल तथा सरुवा रोग अस्पतालको तथ्यांकअनुसार दैनिक सरदरमा ३ सय मानिस कुकुरको टोकाइ विरुद्धको खोप लगाउन आउने गरेका छन् ।

दैनिक सरदर तीन सयका दरले एक वर्षमा १ लाख ८ हजार मानिस कुकुरको टोकाइबाट पीडित हुने गरेका छन् । यो तथ्यांक कुकुरको टोकाइ विरुद्ध प्रयोग गरिने खोप एन्टी रेबिज भ्याक्सिन लगाउन टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउने बिरामीको संख्या हो । यस बाहेक निजी अस्पताल तथा अन्य अस्पतालको समेत जोड्ने हो भने अझै बढ्ने जानकार चिकित्सकहरू बताउँछन् ।

टेकु अस्पतालमा कार्यरत चिकित्सकहरूका अनुसार काठमाडौँ उपत्यकाभित्र बाट जनावरले टोकेर उपचार गराउन आउनेहरु मध्ये ९० प्रतिशत मानिसहरू कुकुरको टोकाइबाट घाइते भएर अस्पताल आउने गरेका छन् ।

कपन घर भएका दीपक नगरकोटी आफ्ना ५ वर्षीय छोरा बिपलपलाई पुस १४ गते दोस्रो पटक रेबिजको सुई लगाउन अस्पताल आएका थिए । उनका छोरा बिप्लवलाई पुस ११ गते सोमबार पहिलो सुई लगाइएको थियो । बाटो हिँड्ने कुकुरले आफू घरमा नहुँदा छोरालाई खेल्दै गर्दा टोकेको उनी बताउँछन् ।

पशुबाट मानिसमा सर्ने रोग रेबिज, जनावरको टोकाइबाट लाग्ने गर्दछ  । रेबिज भाइरस शरीरमा प्रवेश गरेपछि त्यसको विकास भएर सङ्क्रमण हुने समय अरू रोगको तुलनामा अलि लामो छ । यो नौ दिनदेखि ५० दिन सम्म लाग्छ जसलाई इन्क्यूबेशनपीरो (संङ्क्रमणकाल ) भनिन्छ । कुकुरले टोक्दैमा तुरुन्तै रेबिज हुन्छ भन्ने हुँदैन , विश्वमा कुकुरको टोकाइको एक वर्षपछि रेबिज भएर मृत्यु भएका घटना रहेको टेकु अस्पतालका जनस्वास्थ्य निरीक्षक सुधीर बानिया क्षेत्री बताउँछन् ।

जडीबुटी घर भएकी देवी चौधरी पनि १३ वर्षीय छोरा अमनलाई रेबिजको सुई लगाउन टेकु अस्पताल आएकी छिन् अमन चौधरीलाई पनि घरमै पालेको कुकुरले खेल्दा खेल्दै खुट्टामा टोकेको देवी बताउँछिन् ।

त्यस्तै धुन्सेपाखा घर भएका ८० वर्षीय नर राज गिरी पुस १४ गते बिहीबार टेकु अस्पताल आएका थिए । उनलाई आफ्नै घरको कुकुरले खाना खान दिने बेला हातमा टोकेको हो । उनी भन्छन् अरू बेला केही नगर्ने कुकुरले अचानक टोक्यो । १४ गते उनले पहिलो सुई लगाएका छन् ।
त्यस्तै जडीबुटी घर भएका ३१ बर्षीया प्रमिला र २१ वर्षिया सम्झना गुरुङलाई पनि कुकुरले टोकेको छ । प्रमीलाको घरमा छिमेकीको कुकुर आएपछि त्यस कुकुरलाई खाना दिँदै गर्दा प्रमीलाको हातमा टोकेको थियो । सम्झनाको पनि अफिस नजिकै सधैँ बसिरहने कुकुरलाई बिस्कुट दिँदै गर्दा उनको हातमा टोकेको थियो । उनीहरू दुवैले पुस १४ गते रेबिजको सुई लगाएका छन् ।

रेबिजबाट बच्न कुकुर वा अन्य कुनै पनि घरपालुवा तथा जङ्गली जनावरले टोकेमा लगत्तै उक्त रोगविरुद्धको खोप लगाउनुपर्ने चिकित्सकहरूको सुझाव रहेको छ । त्यसो गर्दा इन्क्यूबेशन कालमै भाइरस नष्ट हुने र रेबिज लाग्ने सम्भावना न्यून हुने डा.शेरबहादुर पुनले बताए ।

वल्र्ड हेल्थ अर्गनाइजेसनको रिपोर्टका अनुसार रेबिज धेरैजसो अवस्थामा कुकुरबाट सरिरहेको हुन्छ । ५देखि १४ बर्षका बालबालिका यसबाट बढी प्रभावित भएका छन् । क्यानाइन रेबिज उन्मूलन गर्ने उत्तम तरिका कुकुरहरूलाई खोप लगाउनु र टोकाइबाट जोगाउनु हो । कुकुरहरू  हाम्रो मिल्ने साथी र अभिभावक तर यती हुँदाहुँदै पनि कुकुरले हामीलाई किन टोक्छ त ?

कुकुर र मानिस फरक —फरक भाषामा कुरा गर्ने गर्छन् । हामीले कुकुरको भाषा नबुझ्ने भएकाले कुकुरले टोक्न सक्ने अवस्था सिर्जना हुन सक्छ । उनीहरूले जब मानिसबाट कुनै असुरक्षित महसुस गर्न थाल्छन् भने त्यो अवस्थामा टोक्ने गर्छन् । यदि हामीले कुकुरहरूको वरिपरि जिम्मेवारीपूर्वक व्यवहार गर्न सिक्यौँ भने , टोक्ने परिस्थितिबाट बच्न सकिन्छ ।

शुक्रराज ट्रपिकलमा वर्षको २० देखी ३० मानिसको रेबिजकै कारण मृत्यु हुँदै आएको जानकारी शुक्रराज ट्रपिकलका डा. शेरबहादुर पुनले दिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ