औषधीसम्म सजिलो पहुँच, सहज उपलब्धताका साथै प्रयोगबारे रहेको अल्पज्ञानका कारण नेपालमा औषधीको जथाभावी प्रयोग गर्ने क्रम निरन्तर उकालो लागिरहेको छ । औषधी पसलमा जानेबितिकै बिना प्रेस्क्रीप्सन औषधी थमाइदिने परिपाटी अहिलेको गम्भीर जनस्वास्थ्य सरोकारको विषय हो । अझ सबैभन्दा महत्वपूर्ण कुरा त के भने अहिले मानिसहरु अलिकति स्वास्थ्यमा केही भइहाल्यो भने आफै एन्टीबायोटिक किनेर खाने प्रवृति देखिइरहेको छ । फार्मेसीहरुबाट पनि सजिलै उपलब्ध हुने एन्टीबायोटिकको उपभोग गर्ने क्रम बढ्दो छ ।
तर, यसका प्रभाव र असरहरुबारे न आम मानिसहरुले हेक्का राखेका छन्, न राज्य नै जानकार देखिन्छ । जथाभावी निरन्तर एन्टीबायोटिक प्रयोग गर्नाले ‘एन्टीबायोटिक रेसिस्टेन्ट’को जोमिख एकदमै बढ्दैं गएको देखिन्छ । ‘एन्टीबायोटिक्स रेसिस्टेन्ट’ ब्याक्टेरिया र फंगसजस्ता कीटाणुहरुले तिनीहरुलाई मार्न डिजाइन गरिएका औषधीहरुलाई पराजित गर्ने क्षमता विकास गर्ने अवस्था हो । रोग फैलाउने ब्याक्टेरिया निरन्तर एन्टीबायोटिक्ससँगको सम्पर्कमा रहँदा आफूलाई त्यो औषधीअनुरुप बदल्छ ।
कीटाणु विस्तारै औषधी अनुकूल आफूलाई विकसित गर्दागर्दै औषधीहरुप्रति प्रतिरोधात्मक क्षमता विकास गर्छ । परिणामस्वरुप यी एन्टीबायोटिकहरु ती कीटाणुहरुमा असर गर्दैनन् । यही अवस्थालाई ‘एन्टीबायोटिक रेसिस्टेन्ट’ भनिन्छ । परिणाम के हुन्छ भने मानिसको शरीरमा कुनै रोगको संक्रमण हुँदा एन्टीबायोटिक औषधीहरुले काम गर्दैनन् । गरिहालेमा पनि लामो समय लाग्छ । यसको मतलब मानिसमा रहेका यस्ता कीटाणुहरु मारिएका हुँदैनन् र बढ्दै जान्छन् । जसका कारण आवश्यक पर्दा प्रतिरोधी संक्रमण उपचार गर्न गाह्रो र कहिलेकाहीँ असम्भवसमेत हुन सक्छ । यसले स्वास्थ्यमा जटिल समस्याहरु निम्त्याउँछ ।
यही कारण अहिले ‘एन्टीबायोटिक रेसिस्टेन्ट’ एक अत्यावश्यक विश्वव्यापी सार्वजनिक स्वास्थ्य खतरा बनेको छ । उपलब्ध केही तथ्यांकहरुले वार्षिक लाखौं मानिसहरुले एन्टीबायोटिक रेसिस्टेन्टका कारण ज्यान गुमाइरहेका छन् । एक तथ्यांकअनुसार एन्टीबायोटिक रेसिस्टेन्टका कारण विश्वव्यापी रुपमा प्रति वर्ष १.२७ मिलियन मानिसहरुको मृत्यु भएको देखाएको छ । यसले के देखाउँछ भने मानव स्वास्थ्यका लागि वरदान मानिएको एन्टीबायोटिक हामी आफ्नै लापरवाहीका कारण काम नगर्ने अवस्थामा पुग्न थालेको छ ।
यतिमात्रै होइन्, एन्टीबायोटिक रेसिस्टेन्टले मानिसको स्वास्थ्यमा नकारात्मक असरहरु पार्ने गर्छ । अनुसन्धानअनुसार लगातार अनुपयुक्त तरिकाले डाक्टरको सल्लाहबिना वा कुनै प्रयोगशाला परीक्षणसमेत नगरी सेल्फ मेडिकेसनबाट एन्टीबायोटिकहरुको जथाभावी प्रयोगले हाल उपलब्ध धेरैजसो एन्टीबायोटिकसँग प्रतिरोध गर्न सक्ने धेरै हानिकारक ब्याक्टेरियाहरु देखा पर्न थालेका छन् । जसले मानवीय स्वास्थ्यमा ठूलो संकट सन्निकट ल्याएको छ ।
सामान्य रोगहरु जस्तैः रुघाखोकी, ज्वरो, टाउको दुखाइ, पेट दुखाइ लागि अनावश्यक रुपमा एन्टीबायोटिक प्रयोग नगर्नु नै सबैभन्दा बुद्धिमानी काम हुन्छ । एन्टीबायोटिक प्रयोग गरिहाल्ने र यसको असरबारे थाहा नहुने अवस्थालाई अन्त्य गर्नका लागि हाम्रो वरपरको समुदायमा व्यापक जनचेतना र जागरणका कामहरु अत्यावश्यक भइसकेका छन् । त्यसका लागि व्यक्ति, परिवार, समुदायसँगै सरोकारवाला निकाय र राज्य नै मिलेर काम गर्नुपर्छ । एन्टीबायोटिक रेसिस्टेन्स संक्रमणहरुको निगरानी गरेर सुधार गर्नुपर्ने जरुरी देखिन्छ ।
नेपालको हेल्थकेयर सिष्टम कमजोर भएका कारणले हाम्रो देशमा पनि यसका असरहरु देखिन थालेका छन् । यसलाई रोकथाम गर्नका लागि नेपाल सरकार र सरोकारवालाहरुको ध्यान जानुपर्ने देखिन्छ । प्रेस्क्रीप्सनबिना जथाभावी एन्टीबायोटिक सेवन गर्नु र गराउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसमा पूर्णतया रोक लगाउने गरी कानुन बनाउनु र कडाइका साथ कार्यन्वयनमा लैजानुपर्छ । संक्रमण रोकथाम र नियन्त्रणका उपायहरुबारे नीति, कार्यक्रम र योजनाको कार्यन्वयन पक्षलाई बलियो बनाएर मात्रै ‘एन्टीबायोटिक रेसिस्टेन्ट’ले निम्त्याएको आसन्न स्वास्थ संकटको सामना गर्न सकिनेछ ।
(लेखक ब्लूक्रस अस्पतालकी फर्मासिष्ट हुन् ।)