काठमाडौं—नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको एमाले नेतृत्वको गठबन्धन सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दावी गरेसँगै चिकित्सक स्वास्थ्यमन्त्री पाउने सम्भावना बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा स्वास्थ्य मन्त्रालय परेमा ललितपुर-३ बाट प्रत्यक्षतर्फ निर्वाचित डा. तोषिमा कार्की र समानुपातिकतर्फ निर्वाचित प्रा.डा. चन्दा कार्कीबीच प्रमुख दाबेदारी रहने देखिएको छ ।
डा. तोषिमाले आफू युवा र प्रत्यक्ष चुनाव जितेकाले मन्त्री हुनुपर्ने बलियो दावी सभापति रवि लामिछानेसँग राखेकी छन् । उनले स्वास्थ्य प्रणालीमा धेरै सुधार गर्नुपर्ने र पुनः कोभिडको जोखिम बढ्दै गएको अवस्थामा चिकित्सकले स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्दा राम्रो आउटपुट आउने बताइन्।
डा. तोषिमा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको आन्दोलनदेखि चर्चामा आएकी हुन् । उनले नेपाल मेडिकल काउन्सिलको सदस्यमा पनि पपुलर मत ल्याएर चुनाव जितेकी थिइन् । ४ मंसिरमा भएको प्रतिनधीसभामा हेविवेट उम्मेदवार निवर्तमान उर्जामन्त्री तथा माओवादी केन्द्रकी प्रभावशाली नेतृ पम्फा भुसाललाई पराजित गरेर ललितपुर ३ नं. क्षेत्रबाट विजयी भएकी थिइन् ।
यस्तै, वरिष्ठ चिकित्सक प्रा. डा. चन्दाले पनि अनुभवका हिसाबले स्वास्थ्य बुझेकाले सम्भावित स्वास्थ्यमन्त्रीका रुपमा हेरिएको छ । डा. चन्दाले आफ्नो पार्टीले स्वास्थ्य, शिक्षालगायतका मन्त्रालय दावी गरेको हुँदा त्यहाँबाट टुंगिएपछि को मन्त्री हुने पार्टीले टुंगो लगाउने बताइन् ।
सरकारी सेवा हुँदैं काठमाडौं मेडिकल कलेजको प्रिन्सिपल र सिईओका रुपमा काम गरिसकेकी डा. कार्कीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फबाट सांसद बनाएको हो ।
डा. तोषिमा र डा. चन्दासँगै समानुपातिकबाटै सांसद बनेका डा. ढाकाकुमार श्रेष्ठको पनि दावेदारी छ । रास्वपाका एक संसदकाअनुसार मनत्रालय टुंगो लागेपछि संसदीय दलले मन्त्री टुङ्ग्याउने छ ।
स्वास्थ्य पाएको अवस्थामा तीन जना आकांक्षी रहेका कारण भोटिङबाट निर्णय हुने सम्भावना रहेको ती सांंसदले हेल्थआवाजलाई जानकारी दिए ।