धरान—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सर्जिकल इन्डोस्कोपी सम्बन्धी दुई दिने इन्डोसार्क सम्मेलन—२०२२ सम्पन्न भएको छ । प्रतिष्ठानका सह—प्रवक्ता डा. चुरामणी पोखरेलकाअनुसार ग्याष्ट्रोइन्टेरेलोजी, ग्याष्ट्रोसर्जरी र जनरल सर्जरी गरी ३ वटा विभागहरुको संयुक्त आयोजना उक्त सम्मेलन सम्पन्न भएको हो ।
२ र ३ पुसमा भएको सम्मेलनमा सर्जिकल इन्डोस्कोपीको चुनौतीहरु सम्बन्धमा बृहत छलफल भएको थियो । सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, वंगलादेश र श्रीलंकाबाट ग्याष्ट्रो इन्टरेरोलोेजी, ग्याष्ट्रो सर्जरी र जनरल सर्जरीका २०० चिकित्सकहरु सहभागी भएका थिए ।
सम्मेलनको उद्घाटन आयोजक समितिका अध्यक्ष प्रा.डा.शैलेस अधिकारी, प्रा.डा.राकेशकुमार गुप्ता, प्रा.डा. रमेशसिंह भण्डारी, प्रा.डा.सत्येमप्रिया डे सरकार, डा.पलेशमान जोशी लाखे र डा.सुरेशप्रसाद साहले संयुक्त रुपमा गरेका थिए ।
सम्मेलनमा आमासय, आन्द्रा, कलेजो, पित्तथैली, पित्तथैलीको नली, प्यांक्रियाज, मलद्धारमा हुने विभिन्न रोगहरुको पहिचान र उपचारबारे वृहत रुपमा चिकित्सक तथा विद्यार्र्थीहरुबीच छलफल भएको थियो । यस्तै, उपचारको क्रममा हुने जटिलताहरुलाई दुरविन प्रविधिबाट कसरी हल गर्न सकिन्छ भनेर पनि छलफल गरिएको थियो । विश्वमा आएको नयॉ दुरविन प्रविधिबाट भइरहेको उपचार सम्बन्धमा पनि कार्यक्रममा छलफल भएको डा. अधिकारीले जानकारी दिए । उनकाअनुसार सम्मेलनमा विश्वमा नयॉ नयॉ प्रविधि र उपचार पद्दती कसरी भइरहेकोबारे एकअर्का बीच ज्ञान, अनुभव साझा गरिएको थियो ।
कार्यक्रममा चिकित्सकहरुले अनुसन्धान(पत्र पनि प्रस्तुत गरेका थिए । यसबाट कार्यक्रममा सहभागी सबै चिकित्सक, विद्यार्थीहरुलाई आफ्नो कार्यक्षेत्रमा फाइदा पुगेको आयोजक समितिका सचिव डा.कुनाल बिक्रम देवले जानकारी दिए । यो कार्यक्रममा सहभागिता जनाउने चिकित्सकहरुलाई नेपाल मेडिकल काउन्सिलबाट १० सिपिडी प्वाइन्ट प्राप्त हुनेछ ।