उच्च रक्तचाप एक क्रोनिक अवस्था हो जसले मुटुलाई तनाव दिँदै मुटुसम्बन्धी रोगहरू पनि बढाउँछ । सामान्यतया: हाम्रो शरीरको रक्तचाप दिनभरि घटबढ भइरहन्छ तर सामान्य अवस्थाभन्दा बढी रक्त चाप भएको अवस्थालाई उच्च रक्तचाप भनिन्छ ।
मेयो क्लिनिकको अनुसार उच्च रक्तचापलाई १२० देखि १२९ सम्म सिस्टोलिक प्रेसर र ८० भन्दा कमलाई डायलोस्टिक प्रेसर भनिन्छ । सामान्य रक्तचाप १२०/८० वा कम हुन्छ भने १८०/१२० भन्दा माथिको रक्तचापलाई उच्च रक्तचाप भनिन्छ ।
पोटासियमको भूमिका र कसरी यसको कमीले शरीरलाई असर गर्दछ ?
पोटासियम एक महत्त्वपूर्ण खनिज हो, जसले हाम्रो शरीरका कोषभित्रको तरल पदार्थलाई सामान्य तहमा राख्ने काम गर्दछ । हेल्थ हार्वर्ड अनुसार यसले धड्कनलाई चलाउँछ भने मांसपेशी तथा नसाहरूले राम्रोसँग काम गरेको निर्धारण गर्दछ ।
त्यस्तै, उच्च रक्तचापको मुख्य कारण रहेको सोडियमको मात्रालाई बाहिर निकाल्न मद्दत गर्दछ ।
स्वास्थ्य निकायका अनुसार “पोटासियमले रक्त नलीका पर्खालहरूलाई आराम दिन्छ, रक्तचाप कम गर्छ र मांसपेशी क्र्याम्पिङबाट बचाउँछ ।
पोटासियमको कमीले शरीरमा देखाउने लक्षणहरू
-कब्जियत
-मुटुको धड्कन रोकिँदै भएको वा रोकिएको महसुस हुनु
-थकान
-मांसपेशीमा क्षति
-मांसपेशीमा कमजोरी वा ऐँठन हुनु
-झन्झन् वा बेहोस हुनु
शरीरमा पोटासियमको कमी भएको कसरी थाहा पाउने ?
लक्षणहरू बाहेक पनि पोटासियमको कमी हामीले विभिन्न तरिकाबाट थाहा पाउन सक्छौँ । यी लक्षणहरू देखिएको अवस्थामा नजिकैको स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गराउनुपर्छ । त्यहाँ त्यसको लागि रगत जाँचेपछि त्यसबाटै थाहा पाउन सकिन्छ । क्लिभल्यान्ड क्लिनिकका अनुसार, वयस्कको लागि सामान्य पोटासियम स्तर ३.५ देखि ५.२ सम्म हुन्छ ।
दिनमा कति पोटासियम आवश्यक हुन्छ ?
मेयो क्लिनिकका अनुसार पोटासियमको कमी निकै दुर्लभ भएकाले यसको लागि सूचि तयार पारिएको छैन तर वयस्कहरूले दिनमा १६०० देखि २००० मिलिग्राम पोटासियम सेवन गर्नु पर्याप्त हुन्छ ।
पोटासियमले भरिपूर्ण खानेकुरा
प्राय खानेकुराहरूमा उच्च तहका पोटासियमहरू पाइने गर्छ । ती मध्ये हरिया सागपात, गेडागुडी, नट्स, दुग्धजन्य खानेकुरा, माछा मासु तथा केरा, सुन्तला, अङ्गुर साथसाथै दाल तथा राजमा पनि पर्दछन् ।