२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारक्षयरोगका बिरामी खोजिँदै

क्षयरोगका बिरामी खोजिँदै


काठमाडौँ – काठमाडौँ उपत्यकामा लुकेका क्षयरोगका बिरामी खोज्न सुरु गरिएको छ । जापान क्षयरोग निवारण संस्था र जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्थाले संयुक्त रूपमा उपत्यकामा क्षयरोगका बिरामीलाई खोज्न सुरु गरेको हो ।

संस्थाले अहिलेसम्म उपत्यकाका १७ स्थानमा क्षयरोग खोज्नका लागि ‘ सक्रिय क्षयरोग खोज पडताल’ कार्यक्रम सुरु गरेको छ । संस्थाका प्रमुख रामशरण गोपालीले खोजप्रताल गर्दा १.१ प्रतिशतमा क्षयरोगका बिरामी भेटिएको जानकारी दिए । उनका अनुसार चार हजार २७३ जनामा क्षयरोग परीक्षण गर्दा ४५ जनामा बिरामी भेटिएको छ ।

उनले उपत्यकामा रहेका सहरी गरिबी, स्वास्थ्य सेवाको पहुँच नभएका, एउटै कोठामा बस्ने जोखिम समूह, वृद्धाश्रम, होस्टेल, कलकारखानामा काम गर्ने मजदुरलाई लक्षित गरी खोज प्रताल कार्यक्रम सञ्चालन गरेको बताए । संस्थाले क्षयरोगका लक्षण नभएका व्यक्तिमा क्षयरोगको परीक्षण गरिरहेको छ ।

आजदेखि काठमाडौँ महानगरको वडा नं. ८ को तिलगंगास्थित शान्ति सेवा गृहमा क्षयरोगको परीक्षण गरी सुरु गरिएको उनले जानकारी दिए । गृहमा बसेका बालबालिका, वृद्धालाई लक्षित गरी परीक्षण सुरु गरिएको हो । उनका अनुसार दुई सय ५० जनाको निःशुल्क परीक्षण गरी उपचार गरिने छ ।

छातीको एक्सरे गरेपछि क्षयरोगको शङ्का लागेपछि ‘टिबी ल्याम्प’ र ‘जीन एक्सपर्ट ’विधिबाट खकार परीक्षण गरिन्छ । क्षयरोगका बिरामी भेटिए स्वास्थ्य संस्थामार्फत औषधी सेवन गराउने गर्दछ। संस्थाका प्रमुख गोपालीले जोखिममा रहेका ठाउँका मानिसमा क्षयरोग पत्ता लगायो भने क्षयरोगलाई नियन्त्रण गर्न सकिने बताए । नेपालले सन् २०३५ सम्म क्षयरोगलाई नियन्त्रण गर्ने लक्ष्य लिएको छ । सरकारले क्षयरोगका बिरामीलाई निःशुल्क उपचार गर्दै आइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ