‘क्यामेल फ्लु’ अथवा इष्ट रेस्पिरेटरी सिन्ड्रोम अहिले विश्वकपका फ्यानहरुको लागि नयाँ स्वास्थ्य चुनौती बन्न सक्ने एक रिपोर्टले जनाएको छ । डिसेम्बरको १८ तारिखसम्म चल्ने फिफा विश्वकपले लाखौँ खेलप्रेमीलाई आकर्षण गरिरहेको बेला यो रोगको चुनौती थपिएको कुरा बाहिरिएको हो ।
त्यस्तै न्यू माइक्रोब्स एण्ड न्यू इन्फेक्सन जर्नलमा २२ नोभेम्बरमा प्रकाशित भएको एक अध्ययनले विश्वकपमा लाग्न सक्ने सम्भावित रोगहरुका बारेमा बताउँदै कोभिडसँगै क्यामेल फ्लु पनि फैलिने उत्तिकै सम्भावना रहेको जनाएको छ ।
सन् २०१२ मा देखिएको क्यामेल फ्लु हालसम्म २७ देशमा देखा परेको छ भने विश्व स्वास्थ्य संगठनले पनि यसलाई सम्भावित महामारीको रुपमा हेरेको छ । संक्रमित ऊटबाट सर्ने यो रोगले हालसम्म ८ सय ५८ जनाको ज्यान लिइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
कतारमा पनि २८ जनामा संक्रमण देखिइसकेको यस रोगबाट बच्नका लागि उच्च जोखिम भएका मानिसले ऊटको दुध र राम्रोसँग नपाकेको मासु सेवन नगर्न अनुरोध गरिएको छ । यो रोग विशेषत अरेबियन ऊटबाट सर्ने गर्दछ ।
ज्वरो आउनु, खोकी लाग्नु, छिटोछिटो श्वास फेर्नु तथा पखाला लाग्नु यस रोगको मूख्य लक्षण हुन् ।
-एजेन्सीको सहयोगमा