काठमाडौं—डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित भएका सागर ढकाल स्थानीस्तरमा छलफलमा जुटेका छन् । सांसद नभएपछि आफ्नो स्तरबाट डडेल्धुराको विकास, समृद्धि र जनताको समस्या न्यूनीकरणमा भूमिका खेल्ने बताएका उनी शुक्रबार डडेल्धुरा अस्पतालका चिकित्सकहरुसँग छलफलमा जुटे ।
डडेल्धुरा सुदूरपश्चिमको एकमात्रै केन्द्रीय अस्पताल हो । ‘अब मैले काम शुरु गरिसकेको छु। डडेल्धुराको केन्द्रीय अस्पतालमा त्यहाँका डाक्टरहरुसँग के गर्न सकिन्छ भन्ने सानोतिनो छलफल भएको छ,’ सागरले फेसबुकमा लेखेका छन् ।
सागरले मुलुकभरबाट प्रतिनिधीसभामा १६५ जनाले मात्रै प्रतिनिधित्व गर्ने भन्दैं उनले फस्ट नभएपनि काम गर्न सकिने रहेछ भन्ने मोडलका रुपमा संसद बाहिर प्रस्तुत हुने बताएका छन् । उनले यसका लागि दुई—तीन महिनाभित्र विस्तृत योजना निर्माण गर्ने, डडेल्धुरा र सुदूरपश्चिमसँगै देशको मुद्धा उठाउने बताएका छन् ।
गुल्मीका सागर प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवासँग चुनाव लड्न देउवा ४ महिनाअघि डडेल्धुरा पुगेका थिए । प्रधानमन्त्री देउवाले २५ हजार ५ सय ३४ मत प्राप्त गर्दा उनका मुख्य प्रतिद्वन्द्वी बनेका स्वतन्त्र उम्मेदवार सागरले १३ हजार ४२ मत प्राप्त गरेका थिए ।