विराटनगर – मोरङको बुढीगंगा गाउँपालिका – ४ हात्तिमुढास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी शैक्षिक सत्रबाट स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज अन्तर्गत मेडिकल फार्मेसी र पब्लिक हेल्थको शैक्षिक कार्यक्रम सुरू हुने भएको छ ।
आगमी आर्थिक वर्ष २०७९÷०८० बाट स्नातक तहको मेडिकल फार्मेसी र पब्लिक हेल्थको शैक्षिक कार्यक्रमहरू सुरु हुने भएको हो ।
देशकै पहिलो प्राविधिक विश्वविद्यालयले फार्मेसी र पव्लीक हेल्थ संगै स्कूल अफ
इन्जिनियरिङ्ग अन्तर्गतको बी.ई इन सिभिल इन्जिनियरिङ्ग र बीइ इन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग पनि पढाइ हुने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
आगमी आर्थिक वर्ष २०७९÷०८० बाट मेडिकल तर्फ पठनपाठन गराउन स्नातक तहको पाठ्यक्रम निर्माण गरेर काउन्सिलबाट स्विकृत पनि गराइसकेको उपकुलपति डा. सुवास श्री पोख्रेलले जानकारी दिए । विश्व विद्यालयले संचालन गर्ने कोर्षको लागि छुट्टै करिकोलम बनाउने उनले बताए । विश्वविद्यालयले उत्पादन र समृद्धिसँग जोडेर करिकोलमहरू बनाउने उनले बताए । ‘मेडिकल फार्मेसी कक्षाहरु संचालनमा आएपछि विश्वविद्यालयले मेडिसिन प्लान्टको लागि उत्पादन गर्नसक्ने दक्षजनशिक्ती उत्पादन गर्ने योजना रहेको छ,’ उनले भने ।
देशकै १३ वटा विश्वविद्यालय मध्ये पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले सन् २०३० सम्ममा विभिन्न २८ वटा प्राविधिक बिषयमा स्नातक तहदेखि पिएचडी सम्म पढाई सञ्चालन गर्ने योजना बनाएको छ ।
उपकुलपति पोखरेलका अनुसार आगामी पाँच बर्ष भित्र मनमोहन प्राविधिक विश्वविद्यालय दक्षिण एसियामा चिनिएको प्राविधिक विश्वविद्यालय हुनेछ । उनका अनुसार एमटियूले क्रमश आईटी, पारा मेडिकल , पब्लिक हेल्थ, फार्मेसी , ईन्भाइरोमेन्ट हेल्थ , नेचुरल रिर्सोस एण्ड डेभलपमेन्ट ,इनोभेसन एण्ड म्यानेजमेन्ट लगायतका बिषयमा २८ सय बढी विद्यार्थीहरुलाई स्नातकदेखि स्नातकोत्तर तहसम्म पठनपाठन गराउने छ ।