काठमाडौं—रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो चरणमा ३५ हवाई र ७५३ सडक एम्बुलेन्सको व्यवस्था गर्ने घोषणा गरेको छ । बिहीबार आसन्न प्रतिनिधी तथा प्रदेशसभा निर्वाचन—२०७९ का लागि घोषणापत्र सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्यमा महत्वकांक्षी घोषणाहरु अगाडि सारेको छ ।
‘बलियो स्वास्थ्य संयन्त्र, हाम्रो मुख्य मन्त्र’ नारा दिएर सार्वजनिक गरेको घोषणा पत्रमा नागरिकको स्वास्थ्य खर्चमा एकल भुक्तानी प्रणाली लागु गर्ने उल्लेख छ । यसैगरी, प्रत्येक प्रदेशमा अत्याधुनिक प्रयोगशाला र ७५० शैय्याको विशिष्ट विज्ञसहितको अन्तर्राष्ट्रियस्तरको अस्पताल, जिल्लामा इन्टरनल मेडिसिन, प्रसुति तथा स्त्री रोग, एनेस्थेसिया, फिजिसियन, बालरोग, हाडजोर्नी, सामान्य शल्य चिकित्सा र मानसिक रोगको विज्ञ चिकित्सकसहित ५०—१०० शैयय्याको अस्पताल, प्रत्येक पालिकामा न्यूनतम एक चिकित्सकसहित ६—२५ शैय्याको आधारभूत अस्पताल र प्रत्येक वडामा औषधालयसहितको सामुदायिक क्लिनिक स्थापना तथा स्तरोन्नति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्रमा छ।
उसले परम्परागत उपचार पद्धतिको महत्वलाई विश्वव्यापी गर्न सातै प्रदेशमा सुविधासम्पन्न आयुर्वेदिक तथा प्राकृतिक चिकित्सालय स्थापना गर्ने, एम्बलेन्स ऐनअन्तर्गत केन्द्रीकृत एम्बलेन्स सेवा सञ्चालन गर्ने, आकस्मिक मेडिकल उपचार तथा प्रसव ऐन लागु गर्ने पनि घोषणापत्रमा उल्लेख गरेको छ ।
स्वास्थ्य क्षेत्रको नियमन र स्तरोन्नती गर्न स्वायत्त स्वास्थ्य बोर्ड स्थापना, सशक्तिकरण, मर्जर गर्ने जनाउँदैं उसले स्वास्थ्य गुणस्तर सुनिश्चितता तथा प्रत्यायन बोर्ड, केन्द्रीय रोग नियन्त्रण वोर्ड, नेपाल खाद्य तथा औषधि विभाग, स्वास्थ्य आविष्कार र विकास बोर्ड गठन गर्ने योजना पनि अगाडि सारेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्यकर्मीहरुका लागि छुट्टै स्वास्थ्य श्रमिक ऐन बनाउने, सरकारी स्वास्थ्य सेवाको न्यून दरबन्दी, न्यून पारिश्रमिक, तहगत समस्या समाधान गर्न समायानुकूल स्वास्थ्य सेवा ऐन बनाउने कुरा पनि घोषणापत्रमा अगािड सारेको छ । मानसिक स्वास्थ्यलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणापत्रमा विशेष प्राथमिकतामा राखेको छ ।