पोखरा—एमाले केन्द्रीय सदस्य तथा कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी विद्या भट्टराई डेंगु संक्रमित भएकी छन् । चुनावी अभियानमा रहेकी भट्टराई अस्वस्थ भएपछि चेकजाँच गर्दा डेंगु पुष्टि भएको हो । भट्टराई अहिले ओम हस्पिटलमा उपचार गराइरहेकी छन् ।
नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट महिला हक्की प्रतियोगितामा सहभागी साहारा खतिवडालाई ज्वरो आउने, शरीर दुख्नेलगायतका लक्षण देखिए । त्यसपछि उनको गण्डकी मेडिकल कलेजमा चेकजाँच गर्दा डेंगु पोजेटिभ देखिएको टिमका कोच राजन नेपालीले बताए ।
स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोला दम्पती पनि डेंगु संक्रमित भएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना भएर उपचार गर्नुपरेको थियो ।
यी त केही प्रतिनिधी उदाहरण मात्रै हुन्, देशैभर सयौलाई डेंगु संक्रमणले थला पारेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्यांकअनुसार सन् २०२२ मा नेपालमा ४१ हजार ७ सय ४३ जनाको डेंगु संक्रमण पुष्टि भएको छ । कोभिड—१९ महामारीबाट तंग्रिदैं गरेका नेपालीले पुनः डेंगुको प्रकोप सामना गर्नुपरेको छ ।
लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु सजिलै सर्ने रोग नभएपनि अहिले सरुवाझैं फैलिरहेको छ । संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोकेमा डेंगु संक्रमण हुन्छ । डा. ढाकाकुमार श्रेष्ठ कोभिड—१९ भन्दा पनि डेंगु फिभरले गाह्रो बनाएको अनुभव सुनाउँछन् । ‘कोभिडपछि जीवनकै गाह्रो अवस्था डेंगु फिभरले बनायो,’ उनले भनेका छन् ।
कांग्रेस कास्कीका सचिव भानु ढकाल पनि डेंगु संक्रमित भएका छन् । पोखराको गण्डकी मेडिकल कलेजमा चेक जाँच गर्दा पुष्टि भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा डेंगुका बिरामी आउने क्रम बढिरहेको र केहीलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने बिरामीसमेत आउने गरेको डा. शरद बराल बताउँछन् ।
‘बिरामीको अवस्था थाहा पाउन सेतो रगत घट्ने अवस्थाबारे ३/३ दिनमा जाँच गर्ने गरिन्छ । धेरै घटेको छ कि थोरै घटेको छ ? ज्वरो घटेको ४८ घन्टा भने एकदमै होसियार हुनुपर्छ,’ डा. बराल भन्छन्, ‘सो अवधिमा एकदमै पेट दुख्ने, तारन्तार बान्ता हुने, सास फेर्न गाह्रो हुने, रिँगटा लाग्ने, पिसाबबाट रगत जाने लक्षणहरु छन् भने खतराका संकेत हुन् ।’
कोभिडको भन्दा गाह्रो भयो भन्ने बिरामीहरुको अनुभव सुनेको उनको भनाइ छ । उनले भने, ‘धेरैले कोभिडभन्दा बढी ज्यान दुख्यो भन्नुहुन्छ ।’ ४÷५ दिन जिउ दुख्ने हुन्छ । यसको छुट्टै औषधी छैन, ज्वरो घटाउन कहिलेकाहीँ ५ सय एमजी सिटामोलले भएन भने हजार एमजी (२ चक्की) पनि दिनुपर्ने हुनसक्छ । तर, ब्रोफिन, फ्लेक्सन आदि प्रयोग गर्न नहुने उनी बताउँछन् । ‘जथाभावी औषधी कहिल्यै खानु हुँदैन्, डेंगुमा त झन् खानै हुँदैन्,’ उनले थपे, ‘पानी प्रशस्त पिउनुपर्छ । शरीरमा पानीको मात्रा कम हुन्छ ।’ डेंगुबाट एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट बच्न उनको सुझाव छ ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनः अहिले नेपालमा एडीस इजिपटाइ र एडीस एल्बोपिक्ट्स प्रजातिका लामखुट्टे डेंगु संक्रमण गराउन सक्रिय रहेको बताउँछन् । ‘अहिले मुख्यतयाः एडीस इजिपटाइ र एडीस एल्बोपिक्ट्स गरी दुई लामखुट्टेू सक्रिय छन्,’ उनले भने ।