काठमाडौं—देशव्यापी रुपमा आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइदैंछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार र बिहीबार देशभरका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाइदैंछ।
६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइदैं छ भने १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधी खुवाइदैंछ ।
उमेर पुगेका बालबालिकालाई नजिकैको वितरक केन्द्रमा लगेर नछुटाइ भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन परिवार कल्याण शाखाका प्रमुख डा. विवेकलालले आग्रह गरे ।
उनकाअनुसार दुई दिने अभियानमा ६ महिनादेखि ५९ महिनासम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइदैंछ भने १ वर्षदेखि ५ वर्षसम्मका २३ लाख ९३ हजार बालबालिकालाई जुकाको औषधी खुवाउने लक्ष्य छ ।
बालबालिकालाई कुपोषण र स्वास्थ्य जटिलता जोगाउन वि.सं. २०५३ सालबाट सरकारले देशव्यापी रुपमा राष्ट्रिय अभियानकै भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउँदैं आएको छ । हाल वर्षमा दुई पटक यो अभियान देशव्यापी रुपमा चल्ने गरेको छ ।
यस वर्ष सरकारले गत बैशाख ६ र ७ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधी बालबालिकाहरुलाई खुवाएको थियो ।