काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)ले १६ कात्तिकसम्म अनुभव पूरा गरेका चिकित्सकहरुलाई एकीकृत प्रवेश परीक्षामा सहभागी हुने वातावरण बनाउन चिकित्सा शिक्षा आयोगसँग माग गरेको छ । बिहीबार संघका महासचिव डा. बद्री रिजालसहितको टोलीले आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई ज्ञापनपत्र बुझाउँदैं उक्त माग गरेको हो ।
आयोगले एमडी÷एमएस, एनबीएमएस र एमडीएसका लागि १६ कात्तिकसम्म एकीकृत प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ । आयोगले उक्त प्रवेश परीक्षामा खुल्लातर्फ सहभागी हुनका लागि १३ असोजसम्म कम्तिमा एक वर्षको अनुभव हासिल गरेको हुनुपर्ने मापदण्ड तोकेको छ ।
संघले चिकित्सा शिक्षाको स्नातकोत्तर कार्यक्रमको एकीकृत प्रवेश परीक्षाका लागि १६ कात्तिकसम्म एक वर्ष अनुभव पुगेकालाई सहभागी गराउन आग्रह गरेको छ ।
यस्तै, संघले आवासीय चिकित्सकहरुले विगत ४ महिनादेखि निर्वाह भत्ता प्राप्त नगरेको र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा कार्यरत आवसीय चिकित्सकहरुले प्राप्त गरिरहेको न्यून निर्वाह भत्तालाई समेत समायानुकुल परिमार्जन गर्न माग गरेको छ । एनएमएले देशैभर आवासीय चिकित्सकहरुलाई समान निर्वाह भत्ता उपलब्ध गराउने वातावरण तयार पार्न आयोगलाई आग्रह गरेको छ ।