२०८१ कात्तिक ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १पहाडी जिल्लामा खटिने चिकित्सक तलबबाहेक मासिक १ लाख ५० हजारसम्म प्रोत्साहन भत्ता पाउने

पहाडी जिल्लामा खटिने चिकित्सक तलबबाहेक मासिक १ लाख ५० हजारसम्म प्रोत्साहन भत्ता पाउने

३० दिन काम गरेका चिकित्सकले सतप्रतिशत भत्ता पाउने, १५ दिन भन्दा कम गर्ने चिकित्सकले प्रोत्साहन भत्ता नपाउने


विराटनगर—प्रदेश १ का पहाडी जिल्लाका अस्पतालहरूमा काम गर्ने चिकित्सकलाई प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएको छ । पहाडी जिल्लाका अस्पतालहरुमा चिकित्सक जान नमानेपछि प्रदेश १ सरकारले प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । प्रदेश सरकारले ‘विज्ञेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७९’ बनाएर प्रदेशका दुर्गम र पहाडी जिल्लाका अस्पतालहरूमा खटिने चिकित्सकले प्रोत्साहन भत्ता चालु आर्थिक वर्षको भदौंबाट दिने तयारी गरेको छ ।

प्रदेशका १ पहाडी जिल्लाका अस्पतालहरूमा चिकित्सकहरूको चरम अभाव छ । चिकित्सकहरू सहर केन्द्रित हुँदा दुर्गमका अस्पताल भने विशेषज्ञ डाक्टरको अभावबाट गुज्रिरहेका छन् । प्रदेश सरकारले कार्यविधी बनाएपछि प्रदेश १ को ११ वटा पहाडी जिल्लामा खटिने चिकित्सकले प्रोत्साहन भत्ता चालु आर्थिक वर्षबाट पाउनेछन् ।

मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेपछि दुर्गम र पहाडी जिल्लामा खटिने चिकित्सकले प्रोत्साहन भत्ता प्राप्त गर्ने स्वास्थ्यमन्त्री जयराम यादवले बताए । सहरका अस्पताल मात्र सुधार गरेर स्वास्थ्य सेवा सुधार नहुने भन्दै गाउँका अस्पताललाई पनि सुधार गर्नुपर्ने आवश्यकतालाई महसुस गर्दै यस्तो योजना बनाइएको उनले बताए ।

स्वास्थ्य मन्त्रालयले पहाड तथा दुर्गम जाने चिकित्सकलाई मासिक ६० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म प्रोत्साहन भत्ता दिने भएको छ । संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ, तेह्रथुम र पाँचथर जिल्ला अस्पतालहरूमा काम गर्ने चिकित्सकलाई समान प्रोत्साहन भत्ता दिने कार्यविधिमा उल्लेख छ ।

उक्त अस्पतालमा काम गर्ने ११ औं तहको चिकित्सकलाई मासिक १ लाख ५० हजार, ९ र १० तहको चिकित्सकलाई १ लाख ३५ हजार र ८ औं तहको चिकित्सकलाई १ लाख २० हजार रुपैयाँ प्रोत्साहन भत्ता रहेको छ । यस्तै, धनकुटा, उदयपुर र इलाम जिल्ला अस्पतालमा खटिने चिकित्सकको प्रोत्साहन भत्ता सरकारले घटाएको छ । उक्त जिल्लाको अस्पतालमा खटिने ११ औं तहको चिकित्सकलाई ७५ हजार, ८ र ९ औं तहका चिकित्सकलाई ६८ हजार र ८ औं तहको चिकित्सकलाई ६० हजार रुपैयाँ मासिक प्रोत्साहन भत्ता पाउनेछन् । स्थायी चिकित्सकको हकमा ६० देखि १ लाख ५० हजार रुपैयाँसम्म प्रोत्साहन भत्ता दिने सरकारले निर्णय गरेको छ ।

छात्रवृत्ति करारमा आएका चिकित्सकको हकमा भने प्रदेश सरकारले प्रोत्साहन भत्ता घटाएको छ । संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ, तेह्रथुम र पाँचथर जिल्ला अस्पतालहरुमा खटिने छात्रवृत्ति करारमा आएका ११ औं तहका चिकित्सकले मासिक ७५ हजार रुपैयाँ पाउनेछन् भने ९ र १० औं तहका चिकित्सकले ६८ हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउनेछन् । धनकुटा, उदयपुर र इलाममा खटिने करार छात्रवृत्तिमा आउने ११ औं तहका चिकित्सकले ३८ हजार रुपैयाँ, ९ र १० औं तहका चिकित्सकले ३४ हजार रुपैयाँ मात्र प्रोत्साहन भत्ता पाउनेछन् ।

प्रदेश सरकारले दिने प्रोत्साहन भत्ता विशेषज्ञ चिकित्सक कार्यरत रहेको अस्पतालबाटै उपलब्ध गराउने व्यवस्था मिलाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पहाडी जिल्लाको ११ वटा जिल्ला अस्पतालहरुको हकमा सरकारले प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । तराईको सुनसरी, मोरङ र झापा जिल्लामा रहेको प्रदेश सरकार मातहतका अस्पतालहरूले उक्त प्रोत्साहन भत्ता पाउने छैनन् । जिल्ला अस्पताल सुनसरी, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, प्रादेशिक अस्पताल भद्रपुर र कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रका चिकित्सकले प्रोत्साहन भत्ता पाउने छैनन् । प्रदेश १ मा प्रदेश सरकार मातहतका कोशी अस्पताल अस्पतालसहित १५ वटा अस्पताल रहेका छन् ।

१५ वटा अस्पतालमा ५६ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको छ । पहाडी जिल्लाहरूमा दरबन्दीअनुसारको विशेषज्ञ चिकित्सक नजाने गरेकै कारणले सरकारले प्रोत्साहन भत्ता दिने निर्णय गरी कार्यन्वयनमा ल्याएको हो ।

३० दिन काम गरेका चिकित्सकले सतप्रतिशत भत्ता पाउने

एक महिनाको ३० दिन काम गरेको चिकित्सकले सतप्रतिशत प्रोत्साहन भत्ता पाउने भएका छन् । महिनामा १५ दिनभन्दा कम काम गरेको चिकित्सकलले सरकारले उपलब्ध गराएको प्रोत्साहन भत्ता नपाउने कार्यविधीमा उल्लेख छ ।

तीन दिनभन्दा कम अस्पतालमा काम गरेको पाइएमा सरकारले प्रतिदिन तीन दशमलव पाँच प्रतिशतको दरले कट्टा गरेर बाँकी रकम उपलब्ध गराउने कार्यविधीमा उल्लेख छ ।

कार्यविधीमा के छ ?


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ