वर्षायाम स्वास्थ्यका दृष्टिले संवेदनशील समय हो । वर्षायाममा विभिन्न प्रकारका रोगहरु फैलने गर्दछन् । जसमध्ये डेंगु पनि एक हो । अहिले काठमाडौं उपत्यकामा डेंगुको संक्रमण बढ्दो छ । डेंगु लाग्न नदिन के गर्ने र लागेका के कस्ता कुरामा ध्यान ?
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी चिकित्सक डा. वसुधा खनाल लामखुट्टेको टोकाइबाट बच्ने र लामखुट्टेको वृद्धि रोक्नु नै डेंगुबाट बच्ने मुख्य उपाय भएको बताउँछिन् । ‘प्रायः दिउँसोको समयमा बढी सक्रिय हुने र टोक्ने गर्दछ । त्यसैले घरको झयाल ढोकामा जाली लगाउने, शरीर पूरै छोप्ने लुगा लगाउनुपर्छ,’ उनले भनिन् ।
लामखुट्टे घरभित्र र वरिपरी नै जम्मा भएको पानीमा आफ्नो नस्लको सार्ने गर्छ । त्यसैले खुल्ला ठाउँमा पानी जम्मा गरेर नराख्ने, गमला, खुल्ला बाल्टिन, कण्टेनर, हरेक २.३ दिनमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । ‘पानी संकलन गरेर प्रयोग गर्ने गर्नुभएको छ भने त्यसलाई कभर गर्नुपर्छ,’ उनले थपिन् ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) अनुसार पछिल्ला ९ महिनामा नेपालमा जम्मा ६ हजार ७ सय ७ डेंगुका बिरामी फेला परेका छन् । प्रदेशमा सबैभन्दा बढी बागमती प्रदेशमा ५ हजार ६६ र लुम्बिनी प्रदेशमा ९ सय ३३ जनामा डेंगु पुष्टि भएको छ । डेंगु रिपोर्ट गर्ने शीर्ष १० जिल्लाहरुमध्ये सबैभन्दा बढी ललितपुरमा २ हजार ४ सय ७९ र काठमाडौंमा १ हजार ४ सय १० संक्रमित रहेका छन् । साथै, कैलाली र ललितपुरमा १÷१ जनाको मृत्यु भइसकेको छ ।
डेंगु संक्रमण तीब्र बनेसँगै मानिसहरुले खानपान, उपचारलगायतका कुरामा विशेष ध्यान दिनुपर्ने समय आएको चिकित्सकहरु बताउँछन् । ‘डेंगु हुँदा यो नै खानुपर्छ भन्ने हुँदैन । घरमा उपलब्ध पोषण् युक्त र सजिलै पच्ने खनो कुरा खानुपर्छ,’ डा. खनाल भन्छिन्, ‘चिल्लो पिरो मसलायुक्त खानेकुराहरु खानु हुँदैन् ।’
डा. खनालकाअनुसार डेंगु ‘एडिस’ प्रजातिका एजीप्टाई र अल्बोपिक्टस भन्ने पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । ‘ज्वरो आउने, मांसपेशी र जोर्नी हरुमा दुखाइ हुने, टाउको अत्याधिक दुख्ने, हड्डी भाँच्चिए सरह दुखाइ हुने, आँखाको पछिल्लो भाग दुख्ने, वाकवाकी लाग्ने हुन्छ,’ उनी थप्छिन्, ‘शरीरमा स–साना राता दाना देखिनु, पेट दुख्नु यसका लक्षण हुन् ।’ उनकाअनुसार कुनै—कुनै केसमा निरन्तर वान्ता आउनु, अत्याधिक पेट दुख्नु । नाक र गिजाबाट रगत बग्नु, आलस्य र बेचैनीजस्ता समस्या पनि देखिन्छन् ।