मेरो बाबाको सानो क्लिनिकबाटै हुर्किएको मेरो ठूलो सपना
बाबाले बिरामीको छातीमा आला राख्दै गर्दा
म मेरो सपनाको बिज रोप्दै गरेको हुन्थिएँ
डाक्टर बनी सेवा गर्ने अठोट मन मस्तिष्कमा छर्दै गरेको हुन्थिएँ
हुर्किदै गरेको सानैदेखिको सपना
अथक लगन, त्याग मिहिनेतले फल दिने भयो
घरपरिवार अनि समाजमै खुशीयाली छायो
‘डाक्टरहरु दुर्गम जान मान्दैनन्, दूरदराजका जनता मर्कामा’
टेलिभिजन अनि पत्रिकामा आउने यस्ता समाचारले भित्रभित्रै मन पोल्न थाल्यो
स्वास्थ्यकर्मीहरु निर्ममतापूर्वक कुटिएको खबर छाप्ने पत्रिका अनि समाचार भन्ने टेलिभिजनमा कहिले चै न्याय पाएको खबरले ठाउँ पायो ?
न त टेलिभिजनले नै बिगुल फुक्ने मौका पायो !
सँगैका साथीभाइहरु उच्च शिक्षाका लागि विदेशको तयारी गरिरहँदा
मैले उनीहरुका विदेश मोहलाई प्रतिकार गरिरहेँ
होइन् देशका कुना कन्दरामा हाम्रो खाँचो छ भनी चिच्याइ रहें
माटोले माग्दैन आफैं दिनुपर्छ भनी रहें
उनीहरु भनिरहे
म सुनिरहे
दुर्गममा बत्ती छैन
बाटो छैन
दुर्गममा दुर्गम पोइन्ट छैन
दुर्गममा कष्ट छ
अरे दुर्गममा सुरक्षा छैन
आत्मसम्मान पनि छैन
थप्न छुटाएछन्
कठै भित्रभित्रै गहिरो भाव लुकाएछ्न् !
सेवा गर्न आतुर अनि जिद्दी म
उनीहरुलाई नकारी रहे
जान्छु अनि सेवा गर्छु शब्दका भकारी भरिरहे
के छ र !
बाटो नपुगेको ठाउँमा हिड्दै जाउँला
बत्ती बाल्दै काम गरौंला
आफ्नालाई बिरलै भेटौला
दुःख सुख जे पाक्छ त्यही खाउँला
दुःखमा खुशी खोज्दै थिएँ
आत्मसम्मानमा सन्तुष्टि मेट्दै थिएँ
घरमा अब म दुर्गम जान्छु भनिसकेको थिएँ
अहिले उहीँ बिरक्त लाग्ने समाचार सुन्दैछु अनि सिसिटिभी फुटेज हेर्दैछु डाक्टरलाई मरणासन्नसम्म पुग्ने गरी कुटियो रे
बिरामीको आफन्तबाट उसको आफ्नैले नचिन्ने गरी मुखमा खुट्टाका निला डामका फुलबुट्टा भरिदिए रे
सिकिस्त पारी अस्पताल भर्ना हुने गरी बल प्रयोग गरियो रे
यति मात्र नभई उल्टै डाक्टरलाई जेल चलानीको पुर्जा काटियो रे !
तिमीलाई कालको मुखबाट बचाउन लागेका ती डाक्टरको तिमी स्वयं काल बनिदिन्छौ भने
उसको आत्मसम्मान अनि लगनशीलताको बली चढाउछौं भने
मेरो प्रश्न अब पनि म दुर्गम जाने कि न जाने सरकार ?
अब पनि म दुर्गम जाने कि नजाने सरकार ?