डा. सुभाषचन्द्र यादव
इन्टरनल मेडिसिन, छाला रोग तथा क्रिटिकल केयर विशेषज्ञ
हामीमध्ये धेरैलाई थाहा छ—डेंगु ‘एडिज एजेप्टी’ लामखट्टेको टोकाइबाट सर्ने रोग हो । र, यो पनि थाहा हुनुपर्छ कि, लामखुट्टे ओसिलो तथा पानी जमेको ठाउँ वरपर बढी आउने गर्दछ । यसले पानीको फोहोरामा नै अण्डा पारी त्यही नै बस्ने गर्दछ ।
तर, कतिपय आम जनमानसमा डेंगु सम्बन्धि धेरै भ्रमहरु रहेको पाइएको छ । जस्तोः लामखुट्टेले घुँडामुनीमात्रै टोक्छ, बिरामीको सम्पर्कमा आउँदा वा जुठो खाँदा डेंगु एकबाट अर्काे व्यक्तिमा सर्छ तथा यो आफै ठिक हुने रोग हो । यसको निम्ति खासै केही विशेष उपचारको आवश्यक पर्दैन आदि-इत्यादि ।
सर्वप्रथम हामी सबैले के बुझ्नुपर्छ भने डेंगु लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । कतिपयले डेंगु बिरामीको सम्पर्कबाट सर्ने भ्रम पालिरहेका हुन्छन् । तर, यो बिरामीको सम्पर्कमा आउँदा सर्ने रोग होइन् । यस्तै, लामखुट्टेले ब्यक्तिको घुँडामुनि मात्रै टोक्ने भ्रम पनि हाम्रो समाजमा ब्याप्त छ । तर, यो केवल भ्रममात्रै हो । यसबारे हालसम्म कुनै पनि अध्ययन तथा अनुसन्धान नभएको कारण हामी हाल लामखुट्टेको टोकाइबाट बच्नतर्फ विशेष ध्यान दिनुपर्छ । किनकी लामखुट्टेले शरीरको जुनसुकै भागमा टोकेता पनि यसले हामीलाई डेंगु सार्दछ ।
अर्काे कुरा हामीले के मा विशेष ध्यान दिनुपर्छ भने कुनै पनि रोगलाई हामीले सामान्य रुपमा लिनु हुँदैन । सानो होस् वा ठूलो जुनसुकै रोगले पनि हाम्रो शरीरमा कहिँकतै न कतै शारीरिक तथा मानसिक रुपमा आघात पु¥याउँछ । डेंगु पनि त्यस्तै हो । हामीले यसको सुरुवाती चरणमा नै उपचार गरेको खण्डमा मात्रै यसबाट बच्न सक्छौं । अन्यथा, डेंगुको खासै विशेष रुपमा कुनै पनि उपचार नभएकोले कालान्तरमा यसले ठूलो रुप लिएको खण्डमा यसले ब्यक्तिको ज्यानै जान सक्ने जोखिमसमेत हुन्छ ।
दिनमा टोक्ने लामखुट्टेले मात्रै डेंगु सार्ने भएतापनि हामी राती टोक्ने लामखुट्टेको टोकाइबाट पनि बच्नुपर्दछ । त्यसबाट डेंगु नसारेता पनि अन्य किसिमको समस्याहरु निम्त्याउने भएकोले हामीले प्रत्येक लामखुट्टे तथा किराहरुको टोकाइबाट बच्नुपर्दछ ।