काठमाडौं–वीर अस्पतालमा १४ वर्षदेखि रोकिएको ओपन हर्ट सर्जरी सेवा पुनः सुरु भएको छ । वीर अस्पतालका मुटु शल्यचिकित्सक डा. किरण श्रेष्ठको नेतृत्वको टोलीले दोलखाकी २१ वर्षीया युवतीको ओन हर्ट सर्जरी गरिएको हो ।
दुई साताअघि सामान्य जाँचका लागि वीर अस्पताल आएकी उनको जाँच पड्ताल गर्दा मुटुमा जन्मजात प्वाँल रहेको थाहा भएपछि ९ भदौंमा शल्यक्रिया गरिएको डा. श्रेष्ठले बताए ।
अस्पतालमा लामो समयपछि ओपन हर्ट जसरी गरिएको हुँदा गंगालाल हृयरोग केन्द्रका चिकित्सक डा. रवीन्द्रभक्त तिमिलाको टिमले पनि सहयोग गरेको थियो । शल्यक्रिया गरिएकी युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको र बुधवार डिस्चार्ज गरिएको शल्यक्रियामा सहभागी डा. दीक्षा जोशीले जानकारी दिइन् ।
वीर अस्पतालमा ओपन हर्ट सरजरी गरिएको यो ९९ औं केस हो । यसअघि सन् २००८ सम्ममा ९८ जनाको ओपन हर्ट सर्जरी गरिएको थियो । १४ वर्षअघि उपकरण बिग्रिएपछि शल्यक्रिया रोकिएको थियो । उपकरण बिग्रिएसँगै जनशक्ति पनि कम हुँदै गएर सेवा नै बन्द हुन पुगेको कोभिड—१९ युनिफाइड अस्पतालका निमित्त कार्यकारी अधिकृत प्रा.डा. भूपेन्द्र बस्नेतले जानकारी दिए ।
नयाँ सर्जिकल भवन संचालनमा आएपछि ओपन हर्ट जसरी गर्ने पुराना उपकरण पुनः मर्मत भएको र थप नयाँ पनि ल्याइएका कारण १४ वर्षपछि पुनः सो सेवा संचालन भएको उनले बताए । ‘पुरानो मेसिन पनि मर्मत भएको छ । नयाँ मेसिन पनि थपिएको छ,’ उनले भने, ‘मेसिन थप्नुका साथै कार्डियो डिपार्टमेन्टमा जनशक्ति पनि थपिएको छ ।’ दुई वटा मेसिन तयार भएसँगै अब नियमित रुपमा वीर अस्पतालले ओपन हर्ट सर्जरी गर्ने उनले बताए ।
कार्डियो डिपार्टमेन्ट प्रमुखसमेत रहेका डा. श्रेष्ठले अब कम्तिमा हप्ताको २ वटा ओपन हर्ट सजरी गर्ने तयारी गरिएको जानकारी दिए । ‘यो अस्पताल मात्र नभएर प्राज्ञिक थलो पनि हो । अब मुटु रोगमा एमसीएच गर्ने विद्यार्थी पढाउन पनि हामीले यो नियमिति गर्नै पर्छ,’ उनले भने, ‘हालसम्म यहाँबाट २ जनाले एमसीएच गरेका छन् । पछिल्लो तीन वर्षदेखि खाली छ ।’ अब मुटु सम्बन्धी सबै खालका उपचार सेवा दिएर थप शल्य चिकित्सक उत्पादन गर्ने उनले बताए ।
निमित्त कार्यकारी निर्देशक प्रा.डा. बस्नेतले अबको तीन महिनाभित्रमानै वीर अस्पतालबाट क्याथ ल्याब सेवासमेत दिने बताए । ‘अबको तीन महिनाभित्र हामी क्याथ ल्याबको सेवा पनि दिन्छौं,’ उनले भने, ‘यी सबै सेवा दिन अहिले प्रविधी र जनशक्ति वीर अस्पतालसँग पर्याप्त छ ।’
वीर अस्पतालमा मुटु रोग सम्बन्धी समस्या लिएर दैनिक एक सयभन्दा बढी बिरामी आउने गरेको उनले बताए ।
ओपन हर्ट जसरीमा संलग्न टिम
सिटिभिएस टिमः डा. किरण श्रेष्ठ, डा दिक्षा जोशी, डा. दिनेश चापागाईं, डा. रवीन्द्रभक्त तिमिला (गंगालाल)
एनेस्थेसिया टिमः डा रवीराम श्रेष्ठ, डा. प्रदिपराज वैद्य, डा. सुरेन्द्र भुसाल, डा. एलन अमात्य, डा. रोमन कार्की, डा. आशिष गोविन्द अमात्य (गंगालाल) र डा. स्मृती बज्राचार्य (गंगालाल)
नर्सिङ टिमः संगीता श्रेष्ठ, मुना श्रेष्ठ, प्रतिमा आचार्य (गंगालाल), शकुन्तला महत, (गंगालाल) उजेली पछाई, नविता देवकोटा
कार्डियोलोजी टिमः डा. समीर पौडेल, डा. प्रभा चापागाई, डा. विनायक गौतम, डा. कुञ्जन शेर्पा (गंगालाल)
प्रिफ्युजनिष्ट : प्रेमकान्त चौधरी, उमेश खान (गंगालाल)