काठमाडौं—वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण आउने भएको छ । प्रकाशक फाइनप्रिन्टले २५ भदौंमा डा. कोइरालाको ‘हृदय’ पुस्तकको विशेष संस्करण ल्याउन लागेको हो ।
डा. कोइरालाको पहलमा बन्न लागेको विशिष्टीकृत अस्पताल ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच)को सहयोगका लागि विशेष सिमित संस्करण रुपमा ‘हृदय’ पुस्तक ल्याउन लागेको फाइनप्रिन्टले जनाएको छ ।
२ हजार ५ सय प्रति मात्रै बजारमा आउने उक्त पुस्तकको मुल्य एक प्रतिको २५ हजार रुपैयाँ राखिएको छ । ‘हामीले २५ हजार रुपैयाँ अङ्कित मूल्यका २५ सय प्रति प्रकाशन गरेका छौं,’ फाइनप्रिन्टले भनेको छ, ‘यही भदौ २५ गते लोकार्पण हुने उक्त विशेष संस्करणको पूरै रकम कुनै लागत नकटाई सिधै अस्पताललाई जानेछ ।’
सिमित संस्करणको संस्कार र पद्धतिमा यसले एउटा मानक खडा गर्ने फाइनप्रिन्टले जनाएको छ । ‘नवीनता र गुणात्मकताका दृष्टिले कोइरालाको पुस्तक ‘हृदय’ नेपाली प्रकाशनको इतिहासमा एउटा कोसेढुंगा सावित हुनेछ,’ प्रकाशकले भनेको छ ।