२०८१ कात्तिक ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबिरामीको मृत्युपछि मकालु हस्पिटल तोडफोड, शल्यक्रियामा लापरबाही गरेको आरोप

बिरामीको मृत्युपछि मकालु हस्पिटल तोडफोड, शल्यक्रियामा लापरबाही गरेको आरोप


विराटनगर–विराटनगर–९ गुद्रीका एकजना बालकको उपचारका क्रममा मृत्यु भएपछि चिकित्सकले लापरवाही गरेको भन्दै बिरामीका आफन्तले मकालु एभरेष्ट हस्पिटल तोडफोड गरिदिएका छन् । विराटनगरस्थित मकालु एभरेष्ट हस्पिटलका चिकित्सकले शल्यक्रियामा लापरवाही गरेकाले ७ वर्षीय विराट पासवानको मृत्यु भएको भन्दैं मृतकका आफन्तहरूले हस्पिटल तोडफोड गरेका हुन् ।

पासवानको एपेन्डिसाइटिसको मकालु हस्पिटलमा गत २८ बैशाखमा हस्पिटलका जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. अमिर अफाकले शल्यक्रिया गरेका थिए । शल्यक्रियापछि ५ जेठमा डिस्चार्ज दिएको थियो । बिरामी पासवानलाई ज्वरो र वान्ता आएपछि बिहीबार मकालु हस्पिटल लगिएको थियो ।

डा. अफाकले बिरामीको अवस्था सिकिस्त भएको भन्दै न्युरो हस्पिटलमा रेफर गरिदिएका थिए । बालक पासवानको उपचारको क्रममा शुक्रबार ३ बजे मृत्यु भएको हो । एपेन्डिसाइटिसको अप्रेशन गर्दा डा. अमिर अफाकले लापरबाही गरेको कारणले छोराको अहिले मृत्यु भएको मृतकका बावु विष्णु पासवानले बताए ।

‘छोरा बिरामी भएपछि पहिला उपचार गरेकै मकालु हस्पिटल लिएर आए । अस्पताल आउँदा चिकित्सक पनि ढिलो गरी आउनुभयो । त्यसबेलासम्म छोराले बान्ता गरिरहेको थियो,’ विष्णुले भने, ‘तीन महिना अगाडि छोराको पेटको शल्यक्रिया राम्रोसँग नगरेको कारणले यस्तो समस्या आएको हो । सिकिस्त भएपछि छोरालाई अर्को हस्पिटलमा रेफर गरिदियो । त्यसपछि छोराको ज्यान गयो ।’

सुरूमा मकालु हस्पिटलले राम्रोसँग शल्यक्रिया नगरेका कारण र चिकित्सकको लापरवाहीले छोराको मृत्यु भएको उनले आरोप लगाए । छोराको उपचारमा लापरवाही गर्ने मकालु हस्पिटलका चिकित्सकलाई कारवाही गरिनुपर्ने उनले बताए ।

यता उपचारमा संलग्न चिकिस्तक डा. अमिर अफाक उपचारमा कुनै पनि लापरबाही नगरेको दाबी गरेका छन् । ‘तीन महिना अगाडि शल्यक्रिया राम्रोसँग गरेको हो । अहिले बच्चालाई बान्ता र ज्वारो आउन थालेपछि हस्पिटल लिएर आउनुभएको थियो । बच्चाको समस्या भएका कारणले मैले अर्को हस्पिटलमा रेफर गरेको हो,’ डा. अफाकले भने, ‘मेरो तर्फबाट र हस्पिटलबाट कुनै पनि लापरवाही भएको छैन ।’

हस्पिटल तोडफोड गरेको भन्दै चार जना पक्राउ

बिरामीको मृत्यु भएपछि आक्रोशित भिडले मकालु हस्पिटल तोडफोड गरिदिएपछि प्रहरीले चारजनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विराटनगर ‘क’ ले शुक्रबार दिउँसो मृतकका चार जना आफन्तहरू पक्राउ गरेको हो ।

हस्पिटल तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले रमन मण्डल, सजकुमार कमात, सीतसलाई पक्राउ गरेको मृतकका आफन्तहरूले बताएका छन् । पक्राउ परेका चार जना युवाहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ