विराटनगर–विराटनगर– ३ कन्चनवारीमा रहेको आर्या न्युरो हस्पिटलमा ६ वर्षीया बालिकाको मेरुदण्ड (स्पाइनल कर्ड) मा भएको ट्युमरको सफल शल्यक्रिया भएको छ । धनुषाको जनकपुर घर भएकी ६ वर्षीया बालिका प्रतिज्ञाकुमारी मण्डलको स्पाइनल कर्डमा भएको ट्युमरको सफल शल्यक्रिया भएको हो ।
शल्यक्रियापछि बुधबार उनको डिस्चार्ज भएको छ । स्पाइनल कर्डमा ट्युमर भएको कारणले प्रतिज्ञा हिडडुल गर्न नसक्ने भएर थला परेकी मात्र नभएर उनको पिसाब नियन्त्रण बाहिर गएको थियो ।
प्रतिज्ञाकी आमा रामदुलारी मण्डलले छोरीको उपचारको लागि जनकपुरसहित प्रदेश १ का विभिन्न अस्पतालहरूमा लिएर गइन् । तर, उपचार हुन नसकेपछि उनलाई आर्या न्युरो हस्पिटलमा लिएर आएका थिए । १ साउनमा आर्या न्युरो हस्पिटल आएका प्रतिज्ञाको ३ साउनमा शल्यक्रिया गरेर स्पाइनल कर्डमा भएको ८ सेन्टिमिटरको लामो ट्युमर निकालिएको थियो ।
आर्या न्युरो अस्पतालका वरिष्ठ न्युरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज नेपालको टिमले प्रतिज्ञाको सफल शल्यक्रिया गरेको हो । ‘बालबालिकाहरूको स्पाइनल कर्डमा देखिने यस्ता ट्युमरको शल्यक्रिया धेरै जोखिम हुने गरेको छ,’ डा. नेपालले भने, ‘च्यालेन्जिङ्ग सर्जरी गरेर हामीले स्पाइनल कर्डमा भएको ट्युमर निकालेका छौं ।’
मेरुदण्डको ७ वटा हड्डीको पछाडि ट्युमर रहेको थियो । ‘दिमागबाट आएको नशालाई ट्युमरले समातेको थियो । यो बाहिरतिर ढाडको अप्रेसन गरेपछि प्यारालाइसिस हुन्छ भन्ने हल्ला रहेछ । त्यो हल्ला सत्य होइन,’ वरिष्ठ न्युरो सर्जन डा. नेपालले भने, ‘ट्युमरको अप्रेसन गरेपछि मान्छे हिड्न सक्छ भन्ने यो घटनाले पनि देखाएको छ । बच्चामा ट्युमर रियल हुन्छ । त्यसमाथि पनि मेरुदण्डमा पनि ट्युमर धेरै हुन्छ । यसरी बेलैमा ट्युमरको शल्यक्रिया गरेर उपचार गरे बिरामीको स्वास्थ्य अवस्था राम्रो हुने गर्दछ ।’
मेरुदण्डमा ट्युमर देखिएको बिरामीको चाडैं उपचार गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् । ‘यस्ता बिरामीको समयमै उपचार नगरे थप समस्या हुँदै जान्छ । बेलैमा उपचार नगरे खुट्टा नचल्ने, पिसाब नियन्त्रण नहुने लगायतका अन्य विभिन्न समस्याहरू देखा पर्दै जाने गरेको छ,’ डा. नेपालले भने ।
२५ दिनको उपचारपछि प्रतिज्ञालाई डिस्चार्ज दिइएको हो । अहिले उनी आफै हिंडडूल गर्न सक्ने भएकी छिन् । हस्पिटलका चिकित्सक सफल उपचार गरेर पुनः जन्म दिएको प्रतिज्ञाकी आमा राम दुलारी मण्डलले बताइन् ।