डा. प्रमोद कुमार यादव राष्ट्रिय ट्रमा सेन्टरका नयाँ निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट हुन् । यसअघि पनि एकपटक ट्रमाको नेतृत्व गरिसकेका उनले ९ असारमा सेन्टरको पुनः नेतृत्व लिएका हुन् । डा. यादव ट्रमाअघि जनकपुर प्रादेशिक अस्पतालको मेसु थिए । धेरैजसो सरकारी अस्पतालका चिकित्सकहरुमाथि कार्यालय समयमै निजी अस्पतालमा काम गर्ने गरेको आरोप लाग्ने छ । मंगलबार राष्ट्रिय ट्रमा सेन्टर पुग्दा पनि मेसु डा. यादव आफैले चिकित्सकहरु खोजी गर्नुपर्ने अवस्था थियो । सरकारी स्वास्थ्य संस्थामा ढिलो सेवा पनि प्रमुख समस्याका रुपमा रहँदैं आएको छ । यी यावत समस्याकाबीच मुलुककै प्रमुख सेन्टरको नेतृत्व सम्हाल्न आइपुगेका डा. यादवसँग हेल्थआवाजले गरेको कुराकानीः
राष्ट्रिय ट्रमा सेन्टरको नेतृत्वमा आउनु भएको छ । यसलाई कसरी अगाडि बढाउने योजना बनाउनुभएको छ ?
– सर्वप्रथम, यहाँ भएका सेवालाई व्यवस्थित गर्ने, अनुशासन÷प्रशासनका कमी—कमजोरी सुधार्ने, हाजिर दुई पटक गर्ने व्यवस्था गर्ने, छिटो र सहज पहुँचका लागि डिजिटलाइजेसन र अनलाइन सेवामा लाने सोच छ । हामीले गरेको सेवा जस्तैः एक्स–रे, ल्याब टेस्टहरुको नतिजा बिरामीको मोबाइल र ल्यापटपमा पु–याउने कुरामा केन्द्रित हुनेछौं । बढी इमर्जेन्सी केसलाई फोकस गर्नेदेखि अशक्त र जो उपचारको लागि पैसा तिर्न नसक्ने बिरामीको पनि उपचार त हामीले गरिरहेका नै छौं । यसबाहेक जबसम्म एकेडेमिक चल्दैन्, तबसम्म सेवामा गुणस्तरीय हुँदैन् । त्यसैले एकेडेमिक पक्षमा पनि मेरो जोड रहन्छ ।
एकेडेमिक कार्यक्रमलाई कसरी लाने योजना बनाउनु भएको छ ?
एकेडेमिक कार्यक्रमका लागि हामीले भारतको नयाँदिल्लीको एम्स अस्पतालको ट्रमा सेन्टरको टिमसँग कुरा गरिरहेका छौं । उनीहरुसँग जोडिएर उनीहरुको पाठ्यक्रमअनुसार जाने, कुनै जटिल केस आएमा छलफल गर्ने र कसरी एडभान्स गर्ने भन्ने कुराहरुलाई हेर्ने । यहाँका स्टाफ त्यहाँ पठाएर केही सिकेर आउने, एम्सका विज्ञहरु यहाँ आएर तालिम दिने वातावरण तयार गर्ने मेरो सोच छ । जुन सफल भएमा ट्रमा सेन्टरको सेवाको गुणस्तर बढ्छ ।
सेन्टरमा १०० शैय्या थप्ने कुरा पनि लामो समयदेखि भइरहेको छ ? त्यो कहिलेसम्म पूरा होला ?
हाल २ सय शैय्या मात्र छ । बेडको संख्या बढाउनको लागि १०० शैय्या थप्ने कुरा भैरहेको छ । मैले सम्बन्धित निकायमा भनेको छु, त्यसका लागि कर्मचारीदेखि सबै व्यवस्था गर्दा तीन महिना लाग्ने देखिन्छ । आईसीयु कक्ष १ बेडको छ, जसलाई हामी २५ शैय्याको बनाउने छौं । अप्रेशन थ्रिएटर ५ वटा छ, अब ३ वटा रेगुलर ओटी थप्ने भएको छ । यसले २४ औं घण्टा सेवा दिन सक्छौं । इमर्जेन्सीमा २ वटा ओटी छन्, अब ३ वटा ओटी बनाउने कुरा भएको छ । यसले छिटो सेवा दिन सकिन्छ । विशेषज्ञ डाक्टरहरुलाई भत्ता दिएर २४ घण्टा नै खटाउने हाम्रो योजना छ ।
सरकारी अस्पतालमा सबैभन्दा बढी समस्या लाइनमा बस्नुपर्ने र उपचार सेवा समयमा नपाउने छ । यसको समाधान कसरी गर्नुहुन्छ ?
हाम्रो अस्पतालमा बढी सर्जिकल केसहरु हुन्छन् । प्रायः ट्रमाका दुर्घटना भएका केसहरु हेर्नुपर्ने हुन्छ । छिटो उपचार पाउन यसको लागि क्षमता बढाउनुपर्ने हुन्छ । जे जति सेवा छन्, त्यसलाई दोब्बर मात्रामा बढाउन सकियो भने समाधान हुन्छ । हामीसँग कन्सल्ट्यान्ट चिकित्सक नै ५० भन्दा बढी भएतापनि आवश्यक उपकरण, उपचार गर्ने कक्ष नहुँदा सेवा दिन सकिएको छैन । अप्रेशन गर्ने टेबल पर्याप्त छैन । एमआरआई स्थापनाकालदेखि नै हामीसँग उपलब्ध छैन । अहिले जुन निजी अस्पतालहरुले राखिरहेका छन् । सरकारले राख्न नसक्ने भन्ने कुरा हुँदैन् । त्यस्तै, प्यारालाइसिसका बिरामीका लागि रोबर्टबाट चल्ने मेसिनबाट कसरी उपचार गर्ने भन्ने छ, मेसिन उपलब्ध भएमा हामीले छिटो—छरितो र गुणस्तरीय उपचार सेवा दिन सक्छौं ।
अनलाइन टिकटको कुरा लामो समयदेखि बहसमा छ । यो सेवा ट्रमामा कहिलेबाट सञ्चालनमा आउँछ ?
अनलाइन टिकट सेवा हामी यही साउनबाट सुरु गर्छौं । हामीले बडापत्र पनि डिस्प्लेमा राखिसकेका छौँ हाम्रो सेवा के–के छन् । शुल्क कति छ । यी सबै कुरा हामीले पारदर्शी ढंगले राखेका छौं ।
बिरामी कुरुवाहरु यत्रतत्र बसिरहेको देखिन्छ । उनीहरुको लागि उचित व्यवस्थापन गर्न सकिदैन् ?
हामीले प्रत्येक बिरामी प्रति एक कुरुवाको लागि चेयर राखेका छौं । तर, एउटा बिरामीको १० जना कुरुवा बस्दा त व्यवस्था गर्न सकिदैन् । नत्र भने ठाउँ–ठाउँमा हामीले कुरुवाहरुलाई सहज हुने गरी कुर्सी राखेकै छौं ।
सरकारी अस्पतालमा ड्युटी आवरमा नै चिकित्सकहरु नभेटिने समस्या छ । यहाँ पनि त्यो समस्या देखिन्छ कसरी हल गर्नुहुन्छ ?
यसका लागि हामीले एउटा टोली बनाएका छौं । हाजिर त भै नै हाल्छ । तर, पनि हामीले ड्युटीमा खटिएको छ/छैन भनेर छड्के अनुगमन पनि गर्ने गरेका छौं । र, डाक्टर न आएमा हामीले फोन गर्ने पनि गर्ने गरिएको छ, त्यसैगरी चलिरहेको छ ।
ट्रमा सेन्टरका मुख्य समस्या के छन् ?
ट्रमा सेन्टरमा बिरामीको चाप बढी छ । तर, ठाउँ नहुनु चुनौती बनेको छ । अहिले निजी अस्पताल सबैले केही भैहाल्यो भने ट्रमा सेन्टर नै रिफर गर्ने हुँदा चाप बढी छ । त्यहीअनुसारको उपकरण, जनशक्ति र स्थान बढाउन सके हामीले सेवा दिन सहज हुन्छ । यी चुनौतीका बाबजुद फ्याकल्टी मिलेर हामीले सेवा दिएका छौं । रुटिन निर्धारण गरेका छौं । दैनिक ३० वटा ठूला शल्यक्रिया भैरहेका छन् ।
पछिल्लो समयमा राष्ट्रिय ट्रमा सेन्टरलाई एउटा हबको रुपमा संचालन गरिने र अरु ट्रमा सेन्टरहरुलाई विकास गर्नेबारे कुरा भइरहेको छ नि ?
यो बारेमा बहस भैराखेका छन् । सरकारको नीति र लक्ष्य पनि सात वटा प्रदेशमा सात वटा ट्रमा सेन्टर बनाउने छ । त्यसको नेतृत्व हामीले गर्ने हो । हामीलाई सरल केस रिफर हुँदैन्, त्यही हल भैहाल्छ । हामीले तीन महिने तालिम दिएर अन्त गर्ने गरी रि–साइकल हुन्छ । चेन अफ कमाण्ड यहीबाट भएपछि सरकारको लक्ष्य पूरा हुन्छ । जनमानसले गुणस्तरीय सेवा पाउनेछन् । सरकारको स्पाइन सेन्टर, कार्डियाक सेन्टर, प्रत्यारोपण केन्द्रलगायतका सात वटा रोगको योजना छ । हाम्रै ट्रमामा रिह्याव, स्पाइन सम्बन्धि र पेन म्यानेजमेन्टका सेवाहरु पनि अहिले छैनन् । यी सबै सेवा सात वटै प्रदेशबाट दिन सके हामी सबै कुराबाट अगाडि हुन्छौं ।