२०८१ कात्तिक १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकुपोषित बालबालिकाको संख्या घटाउँदै पुनर्स्थापना गृह

कुपोषित बालबालिकाको संख्या घटाउँदै पुनर्स्थापना गृह


दोलखा – दोलखाको जिरी नगरपालिका वडा नम्बर १ श्यामाकी दिलमाया राउत पोषण पुनर्स्थापना गृहमा बसेको मंगलबार ११ दिन भयो । आफ्नो दुई वर्षको छोरालाई कुपोषण भएपछि उनी पोषण पुनर्स्थापना गृहमा बसेर आफ्नो छोरालाई भएको कुपोषणबाट निको पार्न जुट्नु भएको छ ।

पोषण पुनर्स्थापना गृह जिरी अस्पतालले हाल सम्म २७ जना कुपोषित बालबालिकाहरुको उपचार गरेको छ भने २५ जना बालबालिकाहरुलाई त उपचारपछि घर फिर्ता गरिसकेको छ ।

कुपोषणका कारण उपचार गर्नुपर्ने अवस्थामा पुगेका बालबालिकाहरुलाई छनोट गरी अभिभावकसँगै ल्याएर पोषण पुनर्स्थापना गृहमा राखिन्छ । पोषणयुक्त खानेकुरा सयम मिलाएर खुवाउँदै निको भएपछि घर पठाइन्छ । जिरीमा चालु आर्थिक आ.व. २०७८/०७९ साल भदौदेखि पोषण पुनस्र्थापना गृह सुरु भएको हो । यसको सञ्चालन भने गत २०७८ फागुन १५ बाट भएको हो । नेपाल सरकारले पोषण कार्यक्रमलाई स्वास्थ्य क्षेत्रको विशेष कार्यक्रमको रुपमा घोषणा गरेपछि नेपालका २२ जिल्लामा पोषण पुनर्स्थापना गृह स्थापना गरेको हो । जिरीमा स्थापना भएको यो पोषण पुनर्स्थापना गृहले दोलखा सहित रामेछाप र सोलुखुम्बु जिल्लाका कुपोषित बालबालिकाहरुलाई समेत सेवा प्रवाह गर्दै आएको छ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार नेपालका पाँच वर्षमुनिका बालबालिकाहरुमा १० प्रतिशन ख्याउटेपन छ भने २७ प्रतिशत कम तौल र ३६ प्रतिशत पुड्कोपन रहेको छ । पाँच वर्षमुनिका बालबालिकाहरुमा ख्याउटेपन र कम तौलको प्रतिशत घटाउनको लागि पोषण कार्यक्रमको ठूलो भूमिका रहेको जिरी नगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव दाहालले जानकारी दिनु भयो ।

पोषण कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुको तौल उचाइ लेखाजोखा गरिन्छ र यदि कुपोषित भएको पाइएमा पोषण पुनर्स्थापना गृहमा भर्ना गरेर निशुल्क रुपमा उपचार गरिने जनस्वास्थ्य अधिकृत दाहालले जानकारी दिए ।

पोषण पुनर्स्थापना गृहमा भर्ना भएका कुपोषित बालबालिकाहरुलाई आवश्यकताको आधारमा दिनमा १२ पटकसम्म पोषणयुक्त खानाहरु खुवाइन्छ । बच्चालाई चाहिने खानाको प्रकार, मात्रा र क्यालोरि नापेर दिने गरिन्छ । यसका साथै भर्ना गरिएको बालबालिकासँग बस्ने अभिभावकलाई नि:शुल्क रुपमा खाना र बस्नको सेवा पनि उपलब्ध छ ।

साथै अभिभावकलाई हरेक दिन स्वास्थ्य शिक्षा पनि प्रदान गरिन्छ । कुपोषित बालबालिकाहरु उपचारको लागि गृहमा आएपछि कम्तिमा पनि १५ देखि २५ दिनसम्म बस्नुपर्ने हुन्छ । कुपोषित बालबालिका ठीक नभएमा थप समय गृहमा बस्नु पर्ने पोषण पुनस्थापना गृहकी प्रवन्धक कामना न्यौपानेले जानकारी दिनु भयो । गृहमा बालबालिकालाई मनोरञ्जनका साथै बौद्घिक विकासको लागि विभिन्न किसिमका खेलौना, खानेकुराहरु र जानकारीमूलक पुस्तकहरु उपलब्ध छन् ।

गृहमा मनोरञ्जन कक्ष र टेलिभिजन व्यवस्था रहेको छ । कुपोषित बालबालिकाको जाँचको लागि नजिकैको जिरी अस्पतालका डाक्टरले हप्तामा २ दिन गृहमा आउने गर्छन् । गृहमा भर्ना भएका बालबालिकाहरुको केहि स्वास्थ्य परीक्षण गर्नु परेमा निशुल्क गरिन्छ । उपचारको क्रममा आएका बालबालिकाहरुलाई एक जोर कपडाको साथै उपचारपछि घर फर्कने बेला यातायात खर्च समेत उपलब्ध गराइने गृहकी प्रवन्धक न्यौपानेले जानकारी दिए ।

जिरी अस्पतालमा पोषण पुनस्र्थापना गृह स्थापना भएपछि हालसम्म २७ जना कुपोषित बालबालिकाहरुको उपचार पाएका छन् । ती मध्ये ६ जना दोलखा जिल्ला अन्तर्गतका स्वास्थ्य संस्थाबाट रिफर गरि पठाइएका थिए भने २१ जना बालबालिका भने गृहको आफ्नै पहलमा जिरी नगरपालिकाको विभिन्न ठाउँहरुमा गएर लेखाजोखा गरि कुपोषित बालबालिकाहरुको पहिचान गरेका थिए ।

गृहमा भर्ना भएका बालबालिकाका आमाहरुलाई परामर्श दिएर भर्ना गरिएको गृहकी प्रवन्धक न्यौपानेले जानकारी दिए । जिरी नगरपालिकामा मात्र तीन सय २३ जना बालबालिकाहरुमा तौल र उचाईको लेखाजोखा गर्दा २१ जना शीघ्र कुपोशित फेला परेका थिए भने सात जना शीघ्र कुपोषित बालबालिका फेला परेको थिए ।

बालबालिकाहरुमा कुपोषण हुनुमा धेरै कारक तत्वहरु मध्ये प्रमुख कारण खानाको कमि हो । पारिवारिक र आर्थिक अवस्था कमजोर हुने बालबालिकाहरुमा खानाको अभावले कुपोषण हुन्छ भने पारिवारिक र आर्थिक अवस्था सम्पन्न हुने बालबालिकाहरुमा पनि कुपोषण हुन्छ । बजारको तयारी खानेकुरा खानेकुरा खानाले बालबालिकाहरुमा खानामा रुची हराउदै जान्छ र रोगको विकास हुन्छ जसले गर्दा बालबालिकाहरु कुपोषित हुन्छन् ।

जनस्वास्थ्य अधिकृत केशव दाहालका अनुसार अपर्याप्त खाना-आहार, रोग, समुदायमा अशिक्षा, सामाजिक चालचलन तथा व्यवहार, संस्कृतिक प्रथा तथा परम्परा, आर्थिक अवस्था आदिका कारण बालबालिकाहरु कुपोषित हुने गरेका छन् । यसको साथै बालबालिकाहरुलाई खुवाउने खाना अपर्याप्त हुनु, खाद्य सुरक्षामा कमी हुनाले पनि बालबालिकाहरु कुपोषित हुने गर्छन् । कुनै पनि स्वास्थ्य समस्याले गर्दा पनि बालबालिकाहरु कुपोषित हुन्छन् ।

बालबालिकाहरुलाई खुवाउने सन्तुलित आहारको तयारी विधि तथा भोजनको चेतनामा कमी, अतिप्रशोधित तयारी खाना जंक फुड प्रतिको मोह तथा बानीको कारण कुपोषित हुन सक्ने जनस्वास्थ्य अधिकृत दाहालले जानकारी दिनु भयो । साथै सरसफाईमा ध्यान नदिदा पनि बालबालिकाहरु कुपोषित हुने गर्छन् । हालसम्म पोषण पुनस्र्थापना गृहमा बालकभन्दा बढी बालिकाहरु नै उपचारको लागि आएका छन् ।

बालबालिकाहरुमा कुपोषण हुनुको मुख्य कारण असन्तुलित भोजन हो । सन्तुलित भोजन भन्नाले सबै किसिमका खानाहरुलाई मिलाएर खाने भन्ने बुझिन्छ । सन्तुलित भोजनमा अन्न, गेडागुडी, हरियो सागपात, पशुजन्य खानेकुरा पहेलो फलफुल, अण्डा र दूध हुनुपर्दछ । त्यसको साथै खाना तयार गर्नु अघि र बच्चालाई खाना खुवाउनु अघि सरसफाईमा ध्यान दिनुपर्ने जनस्वास्थ्य अधिकृत दाहालको भनाई छ । जिरीमा पोषण पुनस्र्थापना गृह स्थापना हुनुभन्दा पहिला जिरी नगरपालिकामा जम्मा कति बालबालिकाहरु कुपोषित थिए भन्ने बारे एकिन थिएन । कार्यक्रम लागू भएपछि विभिन्न ठाउँहरुमा गएर ६ देखि ५९ महिनाका बालबालिकाहरुको तौल र उचाई नापी कुपोषण पहिचान गरि उपचार गरिएको गृहले जनाएको छ ।

पोषण पुनर्स्थापना गृह सञ्चालनका लागि जिरी नगरपालिकाले पनि विशेष प्राथमिकता दिदै आएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा स्वास्थ्यका लागि ७३ लाख ५२ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसैगरी जिरी नगरपालिकामा स्वास्थ्य क्षेत्रका लागि चालु आर्थिक वर्ष प्रदेश सरकारबाट तीन लाख ७५ हजार रुपैयाँ विनियोजन गरेको थियो भने, संघीय सरकारबाट पाँच करोड ९० लाख ६४ हजार रुपैयाँ जिरीको स्वास्थ्य क्षेत्रका लागि विनियोजन भएको थियो ।

जिरी नगरपालिकाकी उपमेयर कृष्णमाया बुढाथोकी नगरपालिकाले पोषण पुनस्र्थापना गृह सञ्चालनसँगै नगर क्षेत्रमा पोषण शिक्षा र जनचेतना अभिवृद्धिको कार्यलाई पनि उत्तिकै प्राथमिकता दिएको बताउनु हुन्छ । पोषण पुनस्र्थापना गृह स्थापना भएपछि नगरपालिकाभर कुपोषित बालबालिकाको पहिचान गर्ने र पुनस्र्थापना गृहमा उपचारका लागि बालबालिका ल्याउनका लागि पनि नगरपालिकाले विशेष जोड दिएको उपमेयर बुढाथोकीले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ