रन्जित सिंह अहिले सहरका युवा फिजियोथेरापिष्टमाझ चल्तीको नाम हो । राष्ट्रिय ट्रमा सेन्टरमा जागिरे उनी ३६ वर्षको उकालो हिडिरहेका छन् । त्यसबाहेक उनको महारागन्जमा आफ्नै ४ बेडको फिजियोथेरापी सेन्टर पनि छ । त्यसैले उनी अफिस समयमा ट्रमामा बिरामीको उपचारमा खटिन्छन् । साँझ र विहान महाराजगन्जस्थित सेन्टरमा बिरामीका समस्या समाधानमा जुटिरहेका हुन्छन् ।
वि.सं. २०४२ सालमा सिराहाको विष्णपुरमा जन्मिएका हुन्—रन्जित । बुबा रामेश्वर महतो र आमा पवित्रीदेवीका ३ सन्तानमध्ये उनी जेठा हुन् । मध्यवर्गीय किसान परिवारमा जन्मिएकाले उनको प्रारम्भिक शिक्षा गाउँकै स्कुलमा भएको हो । उनको शिक्षादीक्षा स्थानीय श्री जनता माध्यमिक विद्यालयबाट अगाडि बढेको हो ।
स्कुले जीवनमा रन्जित विज्ञान र गणितमा विषयमा बढी रुचि राख्थे । उनलाई हाजिर जवाफ पनि उतिकै मनपथ्र्यो । वि.सं. २०५७ सालमा उनले जनता माविबाटै एसएलसी दिए । एसएलसीमा पहिलो श्रेणीमा उत्तीर्ण भए । ‘मैले कक्षा टप गरे,’ उनले सुनाए, ‘त्यसपछि थप उच्च शिक्षाका लागि काठमाडौं आए ।’
काठमाडौं आएपछि उनी आइएस्सी गर्नका लागि अमृत साइन्स क्याम्पस गए । त्यहाँबाट वि.सं. २०६० सालमा सेकेण्ड डिभिजनमा आईएस्सी उत्तीर्ण गरे । त्यसपछि केही समय उनले एमबीबीएस इन्ट्रान्सको तयारीमा बिताए । करिब दुई वर्ष एमबीबीएसको तयारीमा बिताएका उनले त्यहीबेला समानान्तर रुपमा त्रिचन्द्र कलेजमा बिएस्सी पनि भर्ना गरिसकेका थिए ।
तर, एमबीबीएस इन्ट्रान्समा सोचेजस्तो नतिजा आएन् । एमबीबीएसपछि के गर्ने भन्ने सोचिरहेका बेला उनले साथीहरुबाट फिजियोथेरापीबाट मस्तिष्कघातका बिरामी निको पार्न सकिन्छ भन्ने बुझे । ‘मेरो गाउँमा पनि यसका बिरामी धेरै थिए,’ उनी भन्छन्, ‘यस्ता बिरामीलाई निको पार्दा खुसी मिल्छजस्तो लागेर मैले फिजियोथेरापी पढ्ने निर्णय गरे ।’
त्यही कारण बीएस्सीको पढाइ बाइबाइ गर्दै रन्जित ब्याचलर इन फिजियोथेरापी पढ्नका लागि भारत गए । त्यहाँबाट सन् २०१० मा उनले ब्याचलर इन फिजियोथेरापी सकेर नेपाल फर्किए । नेपाल फर्केपछि केही समय भक्तपुरको नेपाल—कोरिया मैत्री अस्पतालमा काम गरे । त्यसपछि ग्रीन सिटी अस्पतालमा सेवा गरे ।
वि.सं. २०७२ सालमा उनले गंगालाल हृदयरोग केन्द्रमा स्थायी कर्मचारीमा नाम निकाले । स्थायी कर्मचारीका रुपमा गंगालालमा काम गर्दागर्दै उनले लोकसेवामा नाम निकाले । ‘गंगालालमा स्थायी भएर काम गर्न थालेको ५ महिनामै लोकसेवामा नाम निस्कियो,’ रन्जित भन्छन्, ‘नाम निस्किएपछि दाङ गए ।’
सरकारी जागिरेका रुपमा साढे २ वर्ष उनले दाङमा बिताए । त्यसपछि उनको सरुवा राष्ट्रिय ट्रमा सेन्टरमा भयो । उनले ट्रमा सेन्टरमा काम गर्न थालेको नै तीन वर्ष भइसकेको छ । बिरामीको सेवामा अधिक रमाउने रन्जित अहिले सहरमा बढ्दै गएको फिजियो सम्बन्धि समस्याहरु कतिपय जीवनशैलीका कारण पनि थपिएको बताउँछन् । ‘नसा च्यापिएका बिरामी बढ्दो छन्,’ उनी भन्छन्, ‘मांसपेसी सम्बन्धि व्यायामको कमी, दैनिक बस्नुपर्ने उपयुक्त आशनबारे चेतनाको अभाव यसका प्रमुख कारणहरु हुन् ।’
ट्रमाबाहेकको समयमा पनि बिरामीका समस्या समाधान गर्ने विषयमा रन्जितले सोचिरहेका थिए । वि.सं. २०७६ सालमा उनलाई महाराजन्गस्थित निसान सन क्वालिटी हेल्थ क्लिनिकमा फिजियो सेन्टर चलाउनका लागि अफर आयो । त्यो अफरलाई रन्जितले स्वीकार गर्दै क्लिनिककै स्पेशमा ४ बेडको फिजियोथेरापी सेन्टर बनाए ।
उनी सरकारी सेवाबाट फुर्सद भएको समयमा त्यही क्लिनिकमा पुगेर बिरामीहरुलाई सेवा दिन्छन् । ‘यसमा ओपिडी मात्रै छ । भविष्यमा गएर एडभान्स रुपमा पुनःस्थापना केन्द्र खोल्ने विचार छ,’ यी युवा फिजियोथेरापिष्ट सुनाउँछन्, ‘यहाँ हाडजोर्नी, कम्मर दुख्ने, घुँडा खिइएको र दुख्ने, हड्डी भाँच्चिएका, पारालाइसिसका, नसा च्यापिएका, ओभरवेट भएका र मुख बाङ्गो भएका बिरामीहरु आउँछन् । उहाँहरुको उपचार हामीले गरिरहेका छौं ।’