काठमाडौं–काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह(बालेन)ले प्रत्येक वडामा क्लिनिकसहित आफ्नै प्रयोगशाला राख्ने बताएका छन् ।
मेयरमा निर्वाचित भएपछि राष्ट्रिय समचार समितिसँग कुरा गर्दै उनले महानगरका ३२ वटा वडामा वडा क्लिनिकको व्यवस्था गर्ने र ती क्लिनिकमा चिकित्सक, नर्स र प्रयोगशाला राख्ने बताएका हुन् ।
‘वडा क्लिनिकमा मुटु, मिर्गौला तथा कलेजो एवं रगत, रक्तचाप, मधुमेहको सामान्य परीक्षण गर्न सक्ने पूर्वाधार निर्माण गर्छौं,’ उनले भनेका छन्, ‘कम्तीमा ६ महिनामा एकपटक निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाउछौँ ।’ प्रत्येक ६ महिनामा यसरी परिक्षण गर्दा ठूलो रोग लाग्नभन्दा अगाडि नै थाहा पाउन सकिने र उपचार खर्च कम लाग्ने बताए ।
यस्तै, पाठेघर र स्तनको क्यान्सरको ‘स्क्रिनिङ’ गराउने योजना समेत अघि सारेका छन् । त्यसका लागि क्यान्सरको स्क्रिनिङ र प्रयोगशाला ३२ वटै वडामा संचालन गर्ने योजना सुनाए ।
महानगरले नागरिक आरोग्यताका लागि विभिन्न स्थानमा उद्यानको निर्माण गर्ने सरकारी अस्पतालमा सुविधा बढाउने योजना अगाडि सारेको बताए ।
विशेषज्ञ चिकित्सक यहाँ काम नपाएर विदेशिने अवस्था रहेको बताउदै त्यसलाई रोक्न रोक्न के कस्ता सुविधा दिने भन्ने बारेमा छलफल गर्नुपर्ने समेत जानकारी दिए । ‘टेलिमेडिसिन’ सेवा सञ्चालनमा ल्याएर उहाँहरुलाई अतिरिक्त आम्दानीको वातावरण बनाउन सकिने विकल्प पनि उनले प्रस्तुत गरेका छन् ।
सम्पत्ति कर र घरबहालमा नै स्वास्थ्य विमाका लागि प्रिमियम उठाउने र त्यसबाट स्वास्थ्य सुविधा दिन सकिने बताए । ‘जसले गर्दा नागरिकलाई कर तिरौँ-तिरौँ पनि लाग्ने र स्वास्थ्य सुविधा पनि लिने वातावरण बनाउछौँ,’ उनले भने, ‘यसले महानगरवासीलाई कर तिर्न अभिप्रेरित गर्नेछ ।’