२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशस्वास्थ्यमा सेवामा सुधार ल्याउने उम्मेदवारहरुको प्रतिवद्धता

स्वास्थ्यमा सेवामा सुधार ल्याउने उम्मेदवारहरुको प्रतिवद्धता


दोलखा—स्थानीय तहको निर्वाचनको समय नजिकिदै गर्दा उम्मेदवारहरुले प्रतिवद्धता पत्र सार्वजनिक गर्न थालेका छन् । आफूले जितेमा आफ्ना पालिकाका स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गर्ने प्रतिवद्धता पत्रमा जनाएको छ ।

नेकपा एमालेको तर्फबाट भीमेश्वर नगरपालिकाका मेयरका उम्मेदवार हरिवंश चौलागाईले आफ्नो जित भएमा पाँच वर्षभित्रमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । त्यस्तै, पशुपति चौलागाई स्मृति अस्पताललाई जिल्ला तहको विशेषज्ञ सेवा सहितको अस्पतालको रुपमा विकास गर्ने, महिला स्वास्थ्य स्वयमसेविकाको सुविधा वृद्धिसहित आवश्यकताअनुसार परिचालनको व्यवस्था मिलाइने, प्रसुतिजन्य जटिलता भएको, दुर्घटनाजन्य विपद्मा परेको र हृदयघात भएको नागरिकलाई स्थानीय सरकारको तर्फबाट जानकारी प्राप्त गर्नासाथ यथाशीघ्र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, नवजात शिशुको स्वास्थ्यका लागि सुनौला हजार दिनमा स्थानीय सरकारको तर्फबाट पौष्टिक आहार सहितको उपचार र नगद सहित जनप्रतिनिधिबाट सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गरिने जस्ता रहेको छ ।

स्वास्थ्य नै धन हो भन्ने बुझाईकासाथ उम्मेदवारहरुले स्वास्थ्यलाई उच्च प्राथमिकता दिन थालेका छन् । नेकपा एमालेकै प्रतिवद्धतापत्रमा उल्लेख गरिएअनुसार ४० वर्ष नाघेका एकल वा अविवाहित महिला र अतिविपन्न एकल पुरुषहरुलाई निःशुल्क स्वास्थ्य उपचारको प्रवन्ध तथा कार्यविधि बनाई विशेष कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीलगायतका गठबन्धन दलले पनि भर्खर प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ । भीमेश्वर नगरबासीले स्वास्थ्य सेवा नपाएकै कारण अकालमा कसैको ज्यान नजाओस भनि स्वास्थ्यलाई उच्च प्राथमिकता दिई प्रतिवद्धता पत्र जाहेर गरेका छन् । प्रतिवद्धता पत्रमा उल्लेख भएअनुसार चरिकोटको प्रदेश अस्पताललाई अत्याधुनिक सेवा सुविधा सम्पन्न अस्पतालका रुपमा विकास गरिने, उपचारका लागि राजधानी जानुपर्ने बाध्यताको अन्त्य गरिने जनाएको छ । त्यस्तै ६० वर्षमाथिका हरेक नागरिकको स्वास्थ्य बीमा गरिने, हरेक नगरबासीलाई स्वास्थ्य बीमाको पहुँचभित्र लैजान विशेष कार्यक्रम ल्याइने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

चरिकोटमा एउटा मेडिकल कलेज खोल्न पहल गरिने, नगरबासीलाई घरबाट अस्पतालसम्म जाने एम्बुलेन्स सेवामा नगरपालिकाको तर्फबाट ५० प्रतिशत रकम व्यहोर्ने व्यवस्था प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । त्यस्तै स्वास्थ्य चौकीलाई गुणस्तरीय बनाइने, महिला स्वास्थ्य स्वयमसेविकाहरुको सुविधा र क्षमता बढाएर नगरपालिका घरैसम्म स्वास्थ्य सुविधा पु¥याइने, विद्यालयमा बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गराइने, प्रत्येक वडामा प्रत्येक महिना विशेषज्ञ सेवा सहितको स्वास्थ्य विशिर सञ्चालन गरिने र ज्येष्ठ नागरिक, अपाङ्गता भएका, असहाय तथा गर्भवती महिलाहरुको स्वास्थ्य परीक्षण महिनाको एक पटक घरघरमै गएर गर्ने व्यवस्था मिलाईने गठबन्धन दलका प्रतिवद्धता पत्रमा जनाएको छ ।

नगरवासीको मत जित्नको लागि उम्मेदवारहरुले प्रतिवद्धतापत्रमा महत्वपूर्ण योजना समेटा तापनि कार्यान्वयनमा ल्याउन गाह्रो हुने गरेको छ । यसअघिको स्थानीय तहको निर्वाचन २०७४ सालमा पनि दलहरुले यसरी नै प्रतिवद्धतापत्रमा महत्वपूर्ण योजनाहरु सार्वजनिक गरिएका थिए । तर, आफ्नो जित भएमा प्रतिवद्धतापत्रमा उल्लेख गरेअनुसारकै कार्यान्वयनमा ल्याईने गठबन्धन दल मेयरका उम्मेदवार इश्वर मानन्धरले बताए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ