विराटनगर – सुनसरीको इनरुवा ५ की अंशु खतिवडा ६ वर्षकी भइन् । उनको जन्मजातै बायाँपट्टीको हातको कुइनोभन्दा तलको भाग छैन । कक्षा एकमा पढदै आएकी अंशुलाई हातकै कारण नियमित पठनपाठनमा समस्या थियो । आफूले कृत्रिम चलाउन मिल्ने हात हाल्न पाउने खबर पाएपछि उनी निकै दंग परेकी थिइन् ।
बुधबार विराटनगरस्थित न्यूरो अस्पतालमा आमा इन्दिरा आचार्य खतिवडासँग आएर उक्त हात हालेपछि त्यसलाई कसरी चलाउने भनेर उनी निकै आतुर भएकी थिइन् । हात हालेर घर पुगेकी अंशुसँग अहिले उनका स्कुलका साथीहरू पनि खेल्न आउँछन् । सबैभन्दा बढी त अंशु लेख्न र खेलाउन सामान चलाउन सक्छु भन्नेमा खुसी भएकी छिन् ।
विराटनगर – १ पोखरीयाका ३० वर्षीय मौसम खड्कालाई पनि यही हातले जीवनमा नयाँ उमङ्ग दिएको छ । उनले ‘कृत्रिम हात लगाउनसाथ बोतलको बिर्को समातेर लगाए । सँगै रहेको प्लाष्टिको बाल्टिन पनि उठाए । १५ वर्ष अगाडी एक प्लाष्टिक उद्योगमा काम गर्ने क्रममा दुर्घटनामा पर्दा उनको दाया हात गुमेको थियो । ‘एकपटक मरेर बाँचे पनि अरुको बोझ हुन्छु भन्ने लागेको थियो । अहिले ममा आशा पलाएको छ,’ ‘कृत्रिम हात लगाएपछि उनले हर्षित हुँदै भने, ‘ ‘हात गुमाएको त्यो क्षण विर्सिन थालेको छु ।’ सबलाङ्ग मानिस जस्तै गरी अहिले हातले काम गर्ने गरेको उनले बताए । ‘गुमेको हात कृतिम पाएपछि घरमा आवश्यक पर्ने सामग्रीहरू अब आफै बजार गएर ल्याउने गर्नेछु,’ उनले भने, ‘सामान उठान मिल्दो रहेछ ।’
![](https://www.healthaawaj.com/wp-content/uploads/2022/04/mausam-khadak-1.jpg)
हात गुमाए पनि ज्यान बचाएका उनी जीवन यत्तिकै रहेछ भनेर हरेश खाइरहेका बेला कृत्रिम हात लगाइरहँदा हर्षित मुद्रामा देखिन्थे । उनी भन्छन्, ‘कृत्रिम हात पाएपछि सग्लो मान्छे जस्तै हिँडडुल गर्न सक्ने भएको छु ।’
सवारीसाधन आफै चलाएर बजार जाने गरेको उनले बताए । ‘कृत्रिम हात लगाएपछि हलुका पनि हुँदो रहेछ,’ उनले भने, ‘कति सजिलो छ । जत्ति दुःख भोग्नु थियो भोगेँ, अब म सुखीको दिन आयो ।’
इलामको देउमान नगरपालिका ९ का १२ वर्षीय बिनायक जंग विश्वकर्मा पनि कृत्रिम हात लगाएपछि खुसी देखिए । कक्षा ६ मा पढदैछ आएका बिनायकको पनि जन्मजात दाया हाको कुइनोदेखि मुनिको भाग छैन । बुवा हर्कबहादुर विश्वकर्मासँग कृत्रित हात लगाएपछि उनी खेल्न पाइने भन्दै खुसी देखिन्थे ।
हात लगाएर गाउँ गएपछि उनका साथीहरूको पनि हेर्ने लर्को लागेको थियो । पहाडको ठाउँ भएकाले काम पनि त्यत्तिकै गर्नुपर्छ । बुवालाई सघाउने जिम्मेवारी पनि बिनायकसँग छ । तर पनि उनले हातलाई चलाउने दिनहँ अभ्यास गर्ने र सकेसम्म सम्हालेर काम गर्ने बानी बसालेका छन् ।
अंशु र मौसम जस्तै बिनायक जंगको खुसीको जीवनमा पनि निःशुल्क हात लगाइदिएर खुसी थप्ने काम रोटरी क्लब अफ विराटनगर र करुणा फाउेण्डेसनले गरेको छ । बुधबारसम्म ५० जनाले मात्रै हात लगाए पनि १ सय १० जना हात लगाउने लाइनमा छन् ।
‘कृत्रिम हात लिएर जर्मनी संस्था ह्याण्ड प्रोजेन्ट द टिम बेनिफिटका प्राविधिक टोली विराटनगर आइसकेको छ । यसका लागि आवश्यक कोठाहरू र प्रवाधिक सहयोग न्यूरो अस्पतालले गरेको छ । बिहीबारसम्म संचालन हुने निःशुल्क कृत्रिम हात प्रतिस्थापन शिविर १ सय १० जना अपाङगता भएका व्यक्तिहरूलाई कृतिम हात लगाइदिने लक्ष्य लिएको क्लबका सचिब मनोज विक्रम शाहले जानकारी दिए । ६ वर्षदेखि ६५ वर्ष उमेर समूहलाई लगाउन मिल्ने कृत्रिम हात जर्मनी कम्पनीको रहेको छ । कृत्रिम हात लगाउने प्राविधिक क्रिसले अपाङगता भएका व्यक्तिले लगाउने कृत्रिम हात १० केजी तौल उठाउन मिल्ने बताए । ‘कृत्रिम हात लगाउने व्यक्तिले १० केजीसम्मको सामाग्रीहरू उठाउन सक्दछन्,’ उनले भने, ‘यो कृतिम हात लागउँदा कुनै एलर्जी पनि हुदैन । विगत १० वर्षदेखि हामीले यसरी कृतिम हात लगाउँदै आएका छौं । यसको साइट इफेक्ट पनि केही छैन ।’
![](https://www.healthaawaj.com/wp-content/uploads/2022/04/hat-4.jpg)
करूणा फाउन्डेसनको सहकार्यमा भएको यो शिविरमा प्रदेश १ भरीका अपाङगता भएका व्यक्तिहरूलाई कृत्रिम हात लगाउन विराटनगर आएका छन । मोरङबाट २५, सुनसरी २, धनकुटा ५, इलाम ५, पाँचथर १० जना अपाङगता भएका व्यक्तिहरू कृतिम हात लगाउन इच्छुक भएका र उनीहरू शिविरमा आएका थिए ।
६ महिनाको तयारी पछि अपाङगता भएका व्यक्तिहरूलाई कृतिम हात लगाइदिने शिविर आयोजना गरिएको रोटरी क्लबका सर्भिस चियर तथा कार्यक्रम संयोजक सरिता अग्रवालले बताइन् ।
हात बालबालिकाकै इच्छाअनुसारको रङको बनाउन मिल्छ भने नचाहिने बेलामा फुकालेर राख्न पनि सकिन्छ । हात लगाउँदा त्यसभित्र नरम खालका कपडा पनि राखिने हुनाले चिलाउने, पोल्ने वा एलर्जी हुने जस्ता समस्या आउँदैन ।
हात नभएका कारण बालबालिका विद्यालय जान मान्दैनन् । कतिपय परिवारमा बाबुआमाले पनि छोराछोरीलाई घरमै लुकाएर राख्ने गरेका छन् । यस्ता हातले उनीहरूलाई बाहिर एक्सपोज हुन शारीरिक र मानसिक रूपमा उत्प्रेरित गर्ने क्लबका सचिव शाहले बताए ।
कृत्रिम हात पाएपछि खुसी हुँदै बाल्टिन उठाउँदै एक वृद्ध
ठूला मानिसले हात नहुँदा पनि आफूलाई त्यसैमा बानी पारिसकेका हुन्छन् । तर, साना बालबालिकालको जीवन धेरै लामो र महत्वपूर्ण पनि हुन्छ । उनीहरूलाई जीवनमा धेरै खेल्नुपर्ने र लेखपढ गरी करियर बनाउनुपर्ने पनि हुन्छ । त्यसैले हरेक बालबालिकासँग हात होस् भन्ने सोचाइले संस्थाले यो सुरु गरेको क्लबका सभापति सुरेन्द्र गोल्छाले बताए ।