बिर्तामोड – मानसिक अवस्था बिग्रिएको भन्दै परिवारले साङ्गलोमा बाँधेर राखेका झापा हल्दीवारीका २३ वर्षीय गंगाप्रसाद ढकालको बीएण्डसी मेडिकल कलेजमा उपचार हुने भएको छ । अस्पतालका कार्यकारी निर्देशक तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले उनको सम्पूर्ण उपचार गरिदिने भएका छन् ।
मनोरोगका बिरामी ढकालका विषयमा विभिन्न समचार माध्यममा खर्च अभावमा उपचार नपाएर बाँधिएर बसेको भन्ने जानकारी पाएपछि आफूले उद्धार गरी सम्पूर्ण उपचार नि:शुल्क गरिदिने घोषणा गरेको अस्पतालका कार्यकारी निर्देशक प्रसाईले बताए । ‘झापामा कुनै पनि व्यक्ति पैसा नभएर उपचारबाट बञ्चित नहोस् भनेर अभियान नै चलाएको छु,’ उनले भने, ‘२१ औं शताब्दीमा पनि मान्छेले दाम्लोमा बाँधिएर बस्नुपर्ने बाध्यता हुनु दुःखद् हो ।’
बिरामीलाई सोमबार नै बीएण्डसी ल्याएर स्वास्थ्य परीक्षण सुरु गरिने अस्पतालका जनप्रशासन अधिकृत प्रमेस गिरीले जानकारी दिए ।
पुसदेखि मानसिक अवस्था बिग्रिएका ढकालको उपचार गर्ने पैसा नहुँदा बाध्यताले घरमै साङ्गलोले बाँधेर राख्नुपरेको उनका बुवाचन्द्रप्रसाद ढकालले जानकारी दिए ।
अस्पतालका कार्यकारी निर्देशक प्रसाईले यसअघि पनि एक मनोरोगका बिरामी बालकको उद्दार गरी उपचार गराएका थिए।