धनगढी – ‘समृद्ध सुदूरपश्चिमका लागि स्वास्थ्य नागरिक’ भन्ने मुलध्येयका साथ सुृदूरपश्चिम प्रदेश सरकारले जनस्वास्थ्य ऐन ल्याएको झण्डै डेढ वर्ष पछि स्वास्थ्य नीति ल्याएको छ । प्रदेश सरकारले स्वास्थ्यमा सबैको पहुँचको अवधारणालाई साकार पार्न स्वास्थ्य सेवा प्रणालीको विस्तार र सुदृढीकरण गर्दै समतामुलक स्वास्थ्य सेवा प्रवाहको सुनिश्चिचता गर्ने स्वास्थ्य नीतिमा उल्लेख छ ।
स्वास्थ्य नीतिमा स्वास्थ्य पर्यटनको विकास तथा प्रवर्धन, समुदायस्तरमा घुम्ती क्लिनिक सेवा, वडास्तरमा जनसंख्याको आधारमा एकिकृत स्वास्थ्य सेवा केन्द्र, स्थानीय स्तरमा प्राथमिक अस्पताल तथा प्रदेश स्तरमा जनरल र विशेषज्ञ अस्पताल रहने र विशिष्कृत सेवाको लागि संघीय सरकारसँग समन्वय गर्ने उल्लेख गरिएको छ ।
प्रदेशको अर्थतन्त्रलाई योगदान पुग्ने गरी स्वास्थ्य पर्यटनको विकास तथा प्रवर्धन गर्ने, स्वास्थ्य क्षेत्रको लगानी वृद्धि गर्दै सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाइनु साथै नसर्ने रोग न्युनीकरण तथा नियन्त्रणको लागि स्वस्थ्य जीवनशैली प्रर्वद्धन गर्दे आवश्यक स्वास्थ्य सेवाको विकास र विस्तार गर्ने नीति लिएको छ ।
मैलिक चिकित्सा पद्धतिको रुपमा रहेको आर्युर्वेद तथा वैकल्पिक चिकित्सा लगायतका स्वास्थ्य पद्धतिको संरक्षण प्रवर्धन तथा विकास र विस्तार गर्ने नीति लिएको छ । प्रदेश सरकारले स्वास्थ्य नीतिमा स्वास्थ्य क्षेत्रमा आवश्यक पुर्वाधार , औषधी लगायतका स्वास्थ्य सामाग्रीको निरन्तर उपलब्धता सुनिश्चित गरी आपूर्ती व्यवस्थापन प्रणाली सुदृढ गर्नुका साथै जनसंख्या, भुगोल र स्वास्थ्य समस्याअनुसार स्वास्थ्य जनशक्तिको उत्पादन, वितरण परिचालन तथा व्यवस्थापन गर्ने नीति लिएको छ ।
त्यस्तै, बाल स्वास्थ्य सेवाको विस्तार र सुदृढीकरणका साथै सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चिचता गरिनुका साथै स्वास्थ्यप्रर्वद्धक खाद्यपदार्थको उत्पादन, प्रर्वद्धन, पहुँच र प्रयोगमा अभिवृद्धि गरी गुणस्तरीय पोषण सेवाको सुनिश्चिचता गर्ने नीतिलिएको छ ।
राष्ट्रीय स्वास्थ्य अनुसन्धान परिषदको समन्वय र सहकार्यमा प्रदेश स्वास्थ्य अनुसन्धान ईकाई गठन गरी अध्ययन, अनुसन्धान र सर्वेक्षण गरिनेछ । स्थानीयतहको समन्वयतथा सहकार्यमा प्रत्येक विद्यालयहरुमा कम्तीमा एक जना नर्सको व्यवस्था गर्नुको साथै बालबालिका , किशोरकिशोरी गर्भवती, सुत्केरी महिलाको पोषणको अबस्था सुधारको लागि विद्यालय र समुदायमा आधारित स्वास्थ्य तथा पोषण प्रर्वद्धन गर्ने निति लिएको छ।
प्रादेशिक तथा द्धितिय तहका अस्पतालमा नसर्ने रोगको विशिष्कृत उपचारका लागि क्याथ ल्याब, डाईलासिस, रेडियोथेरापी र किमोथेरापी जस्ता सेवाहरु क्रमिक रुपमा विस्तार गर्दे प्रादेशिक अस्पतालमा मानसिक स्वास्थ्य विभाग स्थापना गर्ने नीति लिएको छ ।
त्यस्तै, प्रदेशमासरुवा रोग नियन्त्रण तथा अनुसन्धान केन्द्र , सरुवा रोग अस्पताल र किटजन्य रोगको रोकथाम, नियन्त्रण र अनुसन्धानको लागि अनुसन्धान केन्द्र स्थापना गर्नूका साथै स्थानीयतहको समन्वय तथा सहकार्यमा सरुवा रोगको अध्ययन, अनुसन्धान, निगरानी, रोकथाम नियन्त्रण र निवारण सम्बन्धि कार्य गर्ने नीति लिएको छ ।
त्यस्तै, प्रभावकारी स्वास्थ्य शिक्षा र संचारको माध्यमबाट गलत सामाजिक अभ्यासलाई न्युनीकरण गरी स्वास्थ्यलाई असर पार्ने स्थानीय कुरीति, कु-प्रथासँग सम्बन्धित निर्धारक तत्व पहिचान गर्न अनुसन्धान गर्नुका साथै स्वास्थ्यमा प्रतिकुल असर पार्ने बालबिबाह, छाउपडी , बोक्सी दाईजो लगायतका सामाजिकअभ्यासलाई निरुत्साहितगर्न नितिगत व्यवस्था गर्दै सामाजिक रुपान्तरण कार्यक्रम सञ्चालन गर्ने निति लिएको छ ।
प्रदेशको स्वास्थ्य अवस्था सुधारको लागि स्वास्थ्यका सुचकहरुमा सुधार गर्नु प्रदेश सरकारको स्वास्थ्यनितिको मुख्य उद्देश्य रहेको छ ।प्रदेशको वर्तमान स्वास्थ्य सुचकहरुमा कुलप्रजनन दर २.३, प्रतिहजार किशोरी महिलाहरुमध्ये बच्चा जन्माउने दर ६५.१, प्रतिहजार जिवित जन्ममा५ वर्ष मुनिका बालबालिकाको मृत्युदर ६९, प्रतिहजार जिवितजन्ममा शिशुको मृत्युदर २८.८, प्रतिहजार, शिशुमृत्युदर ४१ रहेको छ ।
त्यस्तै, संस्थागत प्रसुती दर ६९ प्रतिशत र परिवार नियोजनका साधनको प्रयोग दर ३९.५ प्रतिशत रहेको छ । सुदूरपश्चिम प्रदेशमा पोषणको अवस्था हेर्दा ५ वर्ष मुनिका बालबालिकामा पुडकोपना ३५.९ प्रतिशत, ख्याउटेपना ९.३ प्रतिशत र कमतौल २८.१ प्रतिशत रहेको छ ।