काठमाडौं – हामीले अपनाउँदैं आएको खानपानको शैलीले हाम्रो स्वास्थ्य आफै कसरी कमजोर बनाइरहेका छौ भन्ने कुराको प्रतिनिधित्व काठमाडौं कपनका ३२ वर्षीया कुशल (नाम परिर्वतन)को जीवनमा आइपरेको घटनालाई हेर्दा पुग्छ । उनी ६ महिनाअघि हृद्धयघातको शिकार भएर गंगालाल हृद्धयरोग केन्द्रमा उपचार गराउन पुगे । समयमै अस्पताल पुगेको हुँदा एन्जीओग्राफी गरेर मुटुको भल्भ खोलियो । उनको ज्यान बच्यो ।
तर, उनले अब जीवनभर औषधि खानुको विकल्प छैन । त्यतिमात्र नभएर अब उनको जीवनशैली नै पूरै परिर्वतन गर्नुपर्नैछ । प्रत्येक तीन—तीन महिनामा चिकित्सकको सम्पर्कमा रहेर विभिन्न किसिमका जाँच गरिरहनुपर्ने अवस्थामा पुगेका छन् । यसरी युवा अवस्थामा नै हृद्धयघात हुनुको प्रमुख कारण भनेको २० वर्षको उमेरदेखि उनले नियमित गरेको सूर्तीसेवन हो । अन्य कुनै कारण थिएन ।
सूर्ती सेवनकै कारण पछिल्लो समयमा युवाहरुमा हृद्धयघातको जोखिम अत्याधिक बढ्दै गएको बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला बताउँछन् । ‘चुरोटसँगै चाउचाउ, कुरकुरे, चिसो पेय पदार्थजस्ता अस्वस्थ्कर खानपानले युवा अवस्थामा नै दीर्घरोगी बनाइरहेको छ,’ डा. कोइराला भन्छन् , ‘खानपान त्यस्तो छ, तर शारीरिक अभ्यास जिरो भएपछि जिन्दगीभर औषधिको सहारामा बस्नुको विकल्प छैन ।’
खानपान मात्र नभएर हामिले अपनाएको जीवनशैली पनि आफ्नै स्वास्थ्यका लागि खतरा बन्दैं गएको छ । स्वास्थ्य अनुसन्धान परिषद्ले केही वर्षअघि गरेको सर्भेले नसर्ने रोगका रिक्स फ्याक्टर प्रमुख ६ वटा देखाएको छ । जसमध्ये सबैभन्दा उच्च जोखिममा चुरोट सेवन छ । त्यसपछि क्रमस मदिरापान, फलफूल तथा सागसब्जी कम खानु, शारीरिक अभ्यास नहुनु, मोटोपना र बंशाणुगत कारण मानेको छ । सर्भेले जुन कुरालाई नसर्ने रोगको प्रमुख जोखिम मानेको छ, नेपालीहरुको रुची भने त्यसैमा देखिन्छ । नेपालीहरु कसरी खानपानकै कारण आफैले मन्द विषजन्य खानेकुरालाई बढुवा दिदैछन् भन्ने कुरा त्यस्ता खानपिनमा बढ्दो खर्चले पनि पुष्टी हुन्छ ।
राष्ट्रिय तथ्यांक विभागले प्रत्येक वर्ष निकाल्ने हाउसहोल्ड सर्वे २०१६÷०१७ अनुसार सहरमा बस्ने एक जना व्यक्तिले एक वर्षमा मासुका लागि मात्र ६ हजार ६७ रुपैयाँ खर्च गर्छ भने गाउँको व्यक्तिले ५ हजार ३ सय १० रुपैयाँ खर्चन्छ । अझ स्वास्थ्यका हिसाबले सेवन नै गर्न नहुने रक्सी र चुरोटजन्य पदार्थको लागि पनि गाउँको एउटा व्यक्तिले ३ हजार ५ सय ५७ रुपैयाँ खर्च गर्छ भने सहरको एक व्यक्तिले ४ हजार ९ सय ५२ रुपैयाँ खर्च गर्ने गरेको छ ।
स्वास्थ्यको हिसाबले अति उपयोगी मानिने फलफूल सेवनमा भने नेपालीहरु लोभी भएको देखिन्छ । फलफूल सेवनमा गाउँको एक व्यक्तिले सरदर एक वर्षमा १ हजार २ सय १३ रुपैयाँ र सहरमा २ हजार १ सय ८३ खर्च गर्ने गरेको तथ्यांक विभागको सर्वेक्षणले देखाएको छ (हे तथ्यांक) । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सन् २०१३ मा गरेको अध्ययनले पनि नेपालीहरु फलफूल र सागसब्जी अति न्युन सेवन गर्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठनले एक व्यक्तिले एक दिनमा कम्तिमा ४ सय ग्राम भन्दा बढी फलफूल र सागसव्जी सेवन गर्नुपर्ने उल्लेख गरेको छ । तर, सो अध्ययनले त्यती सेवन नगर्ने ९८.१ प्रतिशत नेपाली रहेकोे परिषद्का पूर्व सदस्यसचिव डा. खेम कार्की बताउँछन् । तर, सेवन गर्न नहुने रक्सी, चुरोट, नुनजस्ता वस्तु भने अत्याधिकले सेवन गर्ने गरेको पाइएको छ । सो अध्ययनले १९ प्रतिशत नेपालीले चुरोट सेवन गर्ने गरेको, १७ प्रतिशतले नियमित मध्यपान गर्ने गरेको र २१ प्रतिशतले चाहिने भन्दा धेरै बढी नुन सेवन गर्ने गरेका छन् ।
मुटुरोगीका लागि साढे एक करोड बढी
सरकारले स्वास्थ्य मन्त्रालयमार्फत गंगालाल हृद्धयरोग केन्द्र, मनोमोहन कार्डियो थेरासीस भास्कुलर तथा ट्रास्प्लान्ट सेन्टर र कडा रोगमध्ये मुटुरोग भएकाहरुका लागि आर्थिक वर्ष २०७४÷०७५मा मात्रै १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ सिधै उपलब्ध गराएको छ । जसमा गंगालाल हृद्धयरोग केन्द्रमा ६६ करोड तथा मनमोहन कार्डियो थेरासीस भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरमा ३६ करोड र कडा रोगको उपचारका लागि प्रत्येक विरामीलाई एक लाखका दरले मुटु रोगीलाई ४२ करोड ७६ लाख उपलब्ध गराएको छ ।
मुटु रोगका लागि नै भनेर सिधै गएको खर्च यो भएतापनि अन्य अस्पतालमा जाने खर्चमा पनि यी रोगको उपचार पर्ने गरेको छ । गंगालाल, मनमोहनमा गएको रकम र नसर्ने रोगमा मुटु रोगीलाई उपलब्ध गराएको खर्च मात्र सिधा देखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका योजना अनुगमन महाशाखाका उपसचिव लिलाराज पौडेल बताउँछन् । ‘सिधै मुटु रोग प्रयोजनसँग सम्बन्धित भएको हिसाब मात्र देखाउँन सकिन्छ,’ उनले भन,े ‘अन्य अस्पतालमा पनि मुटु रोगको उपचार हुन्छ तर त्यहाको छुट्टै हिसाव आउदैन् ।’