काठमाडौं–सानेपास्थित स्टार हस्पिटल सान ‘केयर क्यानट वेट’ नाराका साथ जेष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । उक्त सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले ‘स्टार जेरियाट्रिक हेल्थ सर्विस’ सेवा सञ्चालनमा ल्याएको छ ।
अस्पतालकाअनुसार यस सेवामा सेवाग्राहीले घरमै बसेर ल्याब परीक्षण, फिजियोथेरापी, डाइट प्लान, चिकित्सकीय परामर्श, औषधी, ब्लडप्रेसर जाँच, शरीरमा अक्सिजनको मात्रा जाँच, पल्स, शरीरको तापक्मर जाँच आदि सेवा दिल पाउनेछन् ।
यस्तै, अस्पताल आउनु परेमा स्वास्थ्यकर्मीसहितको यातायात सेवा निःशुल्क उपलब्ध गराइने अस्पतालले जनाएको छ । यो सेवा प्रदान गर्नका लागि अस्पतालले छुट्टै विभाग खडा गरेको छ । स्टार जेरियाट्रिक हेल्थ सेवा प्राप्त गर्नका लागि अस्पतालले वार्षिक सदस्यता कार्डको व्यवस्था गरेको छ ।
अस्पतालले सदस्यता शुल्क प्रति व्यक्ति ५ हजार र दम्पत्तिको हकमा आठ हजार आठ सय अठ्ठासी रुपैयाँ तोकेको छ । यो सुविधा लिए बापत सदस्यहरुले विभिन्न हेल्थ प्याकेजहरु सहुलियत रुपमा प्राप्त गर्न सक्ने अस्पतालले जनाएको छ । भर्खरै मात्र अत्याधुनिक पेट तथा कलेजो रोग विभाग संचालनमा ल्याएको अस्पतालले जेष्ठ नागरिकलाई लक्षित गरी स्टार जेरियाट्रिक हेल्थ सेवा संचालनमा ल्याएको हो ।